भारतसँगका सीमा नाका बन्द भएपछि ‘बाबरी’को सुटिङ रोकियो

काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको फिल्मको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनको भनाई छ ।

उनले भनिन्, ‘हामी पूर्वमा छायांकन सकेपछि उतैबाट सिक्किम जाने तयारीमा थियौं । तर, सरकारले कोरोनाका कारण भारतसँगको नाका बन्द गरेपछि नेपालको छायांकन (गीतबाहेक) सकेर काठमाडौं फर्किएका छौं । अब भारतसँगको नाका खुलेपछि बाँकी छायांकनका लागि सिक्किम जानेछौं ।’ पुष्पा, अदितीकी आमा हुन् । फिल्म निर्माणमा उनको पहिलो अनुभव हो ।

‘बाबरी’ मा नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका छ । उनी एक हप्ता अगाडि फिल्मको छायांकनका लागि नेपाल आएका थिए र सोमवार स्वदेश फर्किँदैछन् । फिल्मको सिक्किममा छायांकन सुरु भएपछि धिरज फेरि आउने निर्मात्री बुढाथोकीले बताइन् । ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ । पहिला यो फिल्ममा अभिनेत्री अदिती बुढाथोकीको अपोजिटमा गायक नितेशजंग कुँवरलाई अनुबन्ध गरिएको थियो । तर, छायांकनमा निस्कने समयमा उनले पारिवारिक कारण देखाउँदै फिल्मबाट हात झिकेपछि धिरज मगर भित्रिएका हुन् ।

Loading...