“आमा मलाई गणित र विज्ञान सारै गार्हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी ।
“मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।”
“बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल ?”
साँझ बा घर आए । आमाले दिउँसोको कुरा निकालिन्, “छोरी ट्यूसन …. ।”
“त्यसले पढेर के गर्छे र ? अर्काको घर जानुपरिहाल्छ, आ हुन्दे !” बाले आमालाई भनेको उसले सुनिरहेकी थिई ।
भोलिपल्ट बिहान बाले पनि सुन्ने गरी प्रभाले आमालाई भनी, “आमा हाम्रो दाइ त कति सोझा छन् है ? स्कूलमा पनि सबैले लाटालाटा भनेर जिस्क्याउँछन् ।”
“त्यही त नानी, यसले कसरी गरी खाला ! हाम्लाई त त्यसैको पीर छ । अँ, तँ छेस् नि बाठी ….।”
“म त अर्काको घर जाने जात होइन र आमा ?” उसको कुरा सुनेर आमाको बोली बन्द भो, बा झल्याँस्स भए ।
“बुहारी कस्ती आउने हो ! अलि पढे लेखेकी परे त हुन्थ्यो …. !” आमाले सुस्केरा हाल्दै भनिन् ।
प्रभाले तप्प आँसु चुहाउँदै भनी, “उसका बा पनि मेरैजस्ता त होलान् नि आमा !”