हेराकाजी मानन्धर :
धार्मिक कार्यक्रमहरूमा सक्रिय भई जहाँ पनि जानू हुन्थ्यो । घरमै नेवाः खाजा घर थियो । बिहानको समय बाईसधारा भजन मण्डलमा बितेपनि दिनभरि आफ्नै पसलमा ब्यस्त हुन्थे । बाईसधारा भजन मण्डलको वहाँ एक महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । धार्मिक मान्छे । सडक विस्तारको क्रममा घरको केही भाग छोड्नु परे पनि, सरकारले गरेको काममा सहयोग गर्नु पर्छ भन्नू हुन्थ्यो । नईनास्ती गर्नु भएन । जति सडकका लागि छोड्नु पर्ने हो, सो छोडिएको घरको क्षतिपूर्ति बुझि बाँकी भागमा पुनः घर निर्माण गरि पहिले झै पुनः पसल संचालन गरिरहेकै थिए । एक्कासि पुलिसहरूको भिड सहित डोजरले घरमा हान्न थाले पछि वहाँमा मानसिक तनावका कारण विरामी पर्न थाल्नु भयो । मृत्युु शैयामा पुग्दा पनि वहाँले सहज तरिकाले मृत्युुवरण गर्न सक्नु भएन । श्वास अड्केर घिटिक घिटिक भई पिडाले छट्पटि रहँदा ज्वाईंको सल्लाह बमोजिम सो भत्किएको घरको माटो एक मुठ्ठी वहाँको छातीमा राखिदिएपछि बल्ल श्वास गयो र मृत्यु शैयामा लिन हुनुभयो ।
जैमुल बेगम :
सडक विस्तारले घर भत्काएपछि वहाँ न्यायका लागि र घर फिर्ता पाउने आशामा निरन्तरता आन्दोलनमा होमिनु भयो । वहाँलाई घर फिर्ता लिएर आफू बस्ने भन्दापनि छोराहरूका लागि घर दिलाईदिने वहाँको ठूलो सपना थियो । ७९ वर्षको बृद्ध अवस्था पनि लामबगर देखि भोकै, एक्लै आन्दोलनमा सरिक हुन आउनु हुन्थ्यो । हामी कसैलाई थाहा दिनु भएन कि वहाँ विरामी हुनुहुन्छ भनेर । अन्ततः छोराहरूलाई घर दिलाई दिने सपना पूरा हुन नपाउँदै वहाँ क्यान्सरका कारण बित्नु भयो ।
तीर्थमान श्रेष्ठ :
सरकारी कर्मचारी भएकाेले पनि लेखापढी लगायत प्रशासनिक काम गर्नु पर्यो भने वहाँको अनुभवका कारण हामीहरू वहाँलाई नै अघि सार्थ्यौं । उपत्यका विकास प्राधिकरणले घर घरमा चिह्नो लगाउँदा वहाँको घर ०.० मा परेको थियो । त्यसैले पनि शुरूका दिनमा वहाँ प्रायः चुपचाप नै बस्नु भएको थियो । जब घरमा ०.० भनेर चिह्न लगाउँदा लगाउँदै पनि वहाँको घरमाथि डोजर चल्यो, त्यसपछि वहाँ चुप बस्न सक्नु भएन । अग्रपंक्तिमा उभिनु भयो । कोठे बैठक बस्न समस्या थियो । हामीलाई बैठकका लागि हरहमेशा वहाँको घरको ढोका खुला छोडिदिनु भयो । शुरूमा त घर भत्काएको मात्र थियो । अड्डा अदालत धाउँदै हुनुहुन्थ्यो । जब, पछिल्लो पटक डोजरले घरको जग सहित पुरै भत्काई पाताल बनाई दियो, दिमागमा यसरी हान्यो कि वहाँमा प्यारालाईसिसको समस्या देखिई अशक्त हुनु भयो । बोलेको नबुझिने, लरबराई बोल्नु हुन्थ्यो । जहाँ जानू पर्दा पनि सक्रिय भई हिड्ने मान्छे, घरमा नै थन्किएर बस्नु पर्दा पीडा त हुने नै भयो । वहाँ हिंड्डुल गर्न नसके पनि छोरा रूक्षितले न्यायको लागि लड्दै हुनुहुन्छ । पहिलो चरणको रिले अनशन पश्चात् वहाँले आफ्नो काम अधूरो छोड्दै यस संसारबाट बिदा हुनु भयो ।
विष्णु देवी मानन्धर :
वहाँ एकल महिला हुनुहुन्थ्यो । धेरै दुःख, कष्ट गरेर देवरको सहारामा जितपुर फेदीबाट वाईपासमा घर बनाई बस्नु भएको थियो । एकल महिला भईकन पनि संघर्ष गरि बनाएको घर डोजरले भत्काए पछि सो घरको चिन्ता नहोस् पनि कसरी ? उमेरले बृद्ध र अशक्त हुनु भएको थियो । कतै जानू हुन्न, जान सक्नु हुन्न। घरमा कोहि पाहुना आए, नबिराई सोध्नु हुन्छ । घरको अवस्था कस्तो छ ? मुद्दा के हुँदैछ ? घर बन्छ कि बन्दैन ? यस्तै यस्तै । वहाँका छोरा समाजसेवी श्यामकृष्ण मानन्धर भने न्याय र पुनरबासको लागि दिन रात नभनि नथाकी खटिरहनु भएको छ । यसै बीच पहिलो चरणको रिले अनशन बस्ने क्रममा विष्णु देवी मानन्धरले आफ्नो घर देख्न नपाई बित्नु भयो ।
मोतीलाल शाही :
यिनी खाँटी एमाले समर्थक थिए । रामवीर मानन्धर र यिनका छोराहरू एकदम मिल्ने साथी थिए । त्यसैले पनि रामवीर मानन्धर माथी वहाँको एकदम विश्वास थियो । हामी पिडितहरूले गर्ने कार्यक्रममा वहाँले कहिल्यै साथ दिने र सहयोग गर्ने गर्नु भएन । जब डोजरले घर पुर्णरूपमा भत्काई दिए र सोचे अनुरूप पैसा नपाए पछि बल्ल वहाँको होस् खुल्लो र रामवीर मानन्धर देखि वहाँ बिच्किनु भयो । त्यतिबेला सम्म अबेर भैसकेको थियो । न भत्किएको घर बन्न पाए, न सोचे अनुरूपको पैसा नै पाए । अन्ततः न वहाँ हामी पिडितहरूको बन्न सक्नु भयो, न रामवीर मानन्धरलाई आफ्नो भन्न सक्नु भयो । वहाँ र वहाँको परिवारले सुर्य उदाउन सधै साथ दिनु भयो । तर, त्यहि सुर्यको कारण वहाँ भने सधैको लागि अस्ताउनु भयो ।
सुर्य एउटा प्रतीक मात्र बन्यो । जसले ३९ घरका परिवारलाई आज पर्यान्त पोली रहेको छ । हामीलाई राम्रै थाहा छ, यसले न्यानो पनि दिन्छ । तरपनि, हाम्रो दिल दिमागमा यसले आतंकको घर बनायो । जसले, सुर्यको प्रतीक दुरुपयोग गरेको हो, उसलाई कारवाहि गर्न सक्नु पर्छ । अन्यथा, अझै थुप्रै घरका परिवारलाई नजलाउला भन्ने छैन । यो मौसममा सुर्यले जे पनि गर्न सक्छ । यसको मतलब गैर न्यायीक तवरले काम गर्नु भएन । जनतालाई पोल्ने सुर्य होईन, न्यानो दिन सक्ने सुर्य बन्नु पर्छ । पिडितहरूको माग पूरा गरि न्याय दिन सक्नु पर्छ ।