मदेशमा जस्तै अन्य प्रदेशहरूमा पनि एमाले बाहेकको समीकरण बन्छ- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य प्रदेशमा मधेसमा जस्तै समीकरण बनाएर सरकार बनाउने बताएका छन्।

मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध दलहरू‍, मधेशवादी दलहरू र नेपाली कांग्रेस मिलेर कांग्रेसका श्रीकृष्ण यादव शुक्रबार मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए। त्यहाँ एमालेका सरोज यादवले राजीनामा दिएका थिए।

शनिबार मधेस प्रदेशस्तरीय सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले मधेसमा ‍नेपाली कम्युनिस्ट पार्टी र अन्य पार्टीहरूले तथाकथित समीकरण तोडेर नयाँ समीकरण बनाएको बताएका हुन्।

‘मधेसले भर्खरै परम्परागत र तथाकथित समीकरणको पछि नलागेर भर्खरै मधेस सरकार बनाउने बेला नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरू र नेपाली कांग्रेससमेत भएर नयाँ सरकार बनेको छ।केही वर्षदेखि तथाकथित समीकरण तोडिएको छ। नयाँ समीकरणको सुरूवात मधेसबाटै भएको छ,’ उनले भने।

मधेसबाट देखिएको सन्देश बाँकी प्रदेशमा पनि अगाडि बढ्ने संयोजक प्रचण्डले बताए। ‘नयाँ समीकरण र नयाँ परिवर्तनको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने।