हुनमानढोका दरबारक्षेत्र आसपासका पसल हटाउन पुरातत्वलाई काठमाडौँ महानगरपालिकाको पत्राचार

 

काठमाडौँ । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन  पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको जानकारी दिएको छ । ‘विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वद्र्धन गरी प्राचिनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व भएको बताउनु भयो । पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेता पनि विभागले ढिलासुस्ती गरेको प्रति मेयर शाक्यले ध्यान आकर्षण भएको बताउनु भएको हो।
जुद्द वारुण यन्त्र कार्यालयको सामुन्ने उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरुमा संचालनमा रहदै आएका छन्। शाक्यले भन्नुभयो ‘ पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’
उहाँले तलेजु मन्दिरको आसपास मख्खनतिर पनि वाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खालि गराउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिकरुपमा आग्रह गर्र्यौ,’ शाक्यले भन्नुभयो, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ । पछिल्लो समय उहाँहरुले हटाउने बारेमा चासो गरेको र छलफल चलाएको भन्ने जानकारी पाएको छु । उहाँहरुलाई जतिसक्दो छिटो हटाउने वातावरण निर्माण गर्न पुनः आग्रह गर्छु ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुर्याएर हटाउन आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो । ‘त्यो हाम्रो क्षेत्राधिकार भित्रै पर्छ । अहिले त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको छ,’ गौतमले भन्नुभयो, ‘त्यहाँको संरक्षण, मर्मत सम्हारका लागि टिकेटको केही रकम महानगरपालिकाबाट आउँछ । त्यसैगरी कार्यालयमा काम गर्ने कर्मचारीको सेवा–सञ्चालन, तलब–भत्तालगायत त्यहिबाट उपार्जन गर्ने गरी समिति बनाएका हो ।’
समितिको नेतृत्व पर्यटन मत्रालयको सचिवले गर्ने व्यवस्था रहेको भन्दै गौतमले उहाँको सहित उपस्थितिमा बैठक बसेर जतिसक्दो छिटो प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।