कमलपोखरीमा कंक्रिट प्रयोग भयो भनी भ्रामक प्रचार, जस लिने होड बाजी

अदालतलाइ दिग्भ्रममा पारी समय दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपुर्तिको व्यवस्था हुनु पर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरीमा कंक्रिट प्रयोग भयो भनी भ्रामक प्रचार, जस लिने होड बाजीमा कोहो कोहि लागेको आरोप लगाउनु भएको छ।
काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलका क्रममा व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने शाक्यले बताउनु भएको हो ।
‘ अख्तियार र अदालतलाई समेत दिग्भ्रममा पारी दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपुर्तिको व्यवस्था नहुँदा उनीहरु थप प्रोत्साहित हुने गरेका छन । त्यस्तो प्रवृत्तिलाई न्यायलय र अख्तियारले निरुत्साह नगर्ने हो भने समृद्धिको यात्रा कठिन छ ।’


उनीहरुका माग उपयुक्त रहेछन भने सम्वोधन हुनुपर्छ तर स्वार्थ केन्द्रित भएर विकास निर्माणमै अवरोध गर्ने प्रयास भएको भए त्यस्तालाई क्षतिपुर्तिको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘ कमलपोखरीका स्थानीय र समग्र महानगरबासीलाई अन्योलमा पार्न प्लेकार्ड बोक्ने, कविता बाचन गर्ने, माटोको टिका लागाउने जस्ता कार्य केही व्यक्तिले गरिरहेका छन्,’ भनि नागरिक आन्दोलनको अगुवाइमा गरेको कार्यक्रमतिर इसारा गर्नु भयो।
छलफलका क्रममा न्यायाधीश खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरु जिल्ला अदालतको निरीक्षणमा आउँदा आफूले यो कुरा राख्ने बताउनुभयो । नेपालले अङ्गीकार गरेको न्यायिक प्रणालीको कुरा गर्दै उहाँले, निर्णयसँगै प्रक्रिया पनि ठीक हुनु पर्ने बताउनुभयो । कतिपय देशमा निर्णयबाट पक्ष विपक्षले चित्त बुझाए प्रक्रिया नहेर्ने चलन रहे पनि नेपालमा यस्तो नभएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, उजुरी दर्ता गर्दै प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृत कसले हेर्ने हो, छुट््याएर दर्ता गर्ने गरेको बताउनुभयो । ‘हामी मेलमिलापका माध्यमबाट विवाद निरुपण गर्ने प्रयास गर्छौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले गरेका कुनै पनि निर्णयहरु अदालतबाट बदर भएका छैनन् ।’ प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, न्यायिक निरुपण गर्ने स्थान व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो ।