काठमाडौँ उपत्‍यकामा मास्क र सामाजिक दूरी कायम अनिवार्य , मापदण्ड पालनामा कडाई गर्न निर्देशन

 

काठमाडौँ । काठमाडौँ उपत्‍यकामा मास्क र सामाजिक दूरी कायम अनिवार्य गर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै सतर्कता अपनाउन बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

ललितपुरमा बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिकदुरी कायेम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न आम नागरिकमा आग्रह छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको जानकारी दिए ।

त्यस्तै प्रशासनले सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन आग्रह गरेको छ ।

ललितपुरमा रात्रीकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ। व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नगराउने , स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउन र होलीमा पनि भिडभाड नगर्न ललितपुर जिल्ला प्रशासनले सुचना जारि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भिडभाड नहुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न आग्रह गर्दै यस अघि सञ्‍चालन गरेका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्‍न पनि प्रशासनले निर्देशन दिएको छ ।

नजिकिदै गरेको फागु तथा होलीमा भिडभाड नगराउन र स्वास्थ्य मापदण्डलाई पालना गराउन प्रचार प्रसार गर्न सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ ।

Loading...