काठमाडौँ महानगर पालिकाको स्थानीय पाठ्यक्रम ‘‘ यँ देय् म्हसीके ’’ पुस्तकको बिमोचन

काठमाडौँ महानगर पालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तकको बिमोचन गरेको छ। पाठ््यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेवार भाषा लाद्ने गरी नभई परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो ।
शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ , काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्य , उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त रुपमा आज उक्त पाठ्यक्रम को बिमोचन गर्नु भयो ।
आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रसंषा गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘तल्लो तहदेखि नै काठमाडौं चिनौँ पाठ्यक्रम लागु गरेर स्थानीय भाषाका लागि रोजगारीको समेत अवसर सिर्जना गरेको छ । यो ठूलो काम हो ।’
यसै गरि प्रमुख शाक्यले धेरै जसो थेतनेवार रैथाने शब्दहरू अरु भाषामा बुझाउन नसकिने हुदा ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ । पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकारमा वरुणप्रसाद वैद्य रहनु भएको छ। नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।

 

 

 

 

 

 

 

 

Loading...