ओलीले गरे एमालेका सबै पदाधिकारी खारेज, नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो

काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेमा महासचिव वाहेक सबै पदाधिकारीहरुलाई कारवाही गरेका छन् । साथै उनले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएका प्रदेशका इन्चार्जहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी तोकेका छन् ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी सोही महाधिवेशनबाट उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

पछि २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनाइएको थियो । उक्त एकीकृत पार्टीमा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । केही समयपछि बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष मनोनित गरिएको थियो । बाँकी केही नेतालाई सचिवालय सदस्यका रुपमा मात्र राखिएको थियो ।

५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । सर्वोच्च अदालतले गरेको फैसलाको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

ओलीले पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकेका छन् । ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका हुन् । पार्टीको केन्द्रीय कमिटी बैठक चैत ७ गते बोलाइएको छ । तर, केन्द्रीय समितिमा समेत छलफल नगरी अगाडि नै ओलीले आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।

बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।

यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

Loading...