८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्राबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन घिमिरे र सोही ठाउँका ३७ वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुधवार साँझ विशेष सूचनाका आधारमा पेप्सिकोलबाट सानोठिमी पुग्दै गर्दा गाडी चालक विनोद तामाङलाई गाडीमा पक्राउ गरेको र उनले चलाएको बा २१ च ३८३९ नम्बरको निलो गाडीमा चेकजाँच गर्दा नगद २७ लाख भेटिएको जनाएको छ । पक्राउ परेका चालकले दिएको सूचनाका आधारमा प्रहरीले खानतलासी गरी अर्का व्यक्ति सुमन घिमिरेलाई १५ लाख ३० हजार नगदसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । पेप्सिकोलाबाट पक्राउ परेका घिमिरेलाई बालकोटस्थित डेरामा लग्दा सो रकम फेला परेको र उक्त रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ ।

घिमिरेले जुवा तास खेल्ने र खेलाउने काम गरेर जम्मा पारेको प्रारम्भिक अध्ययनबाट बुझिएको प्रहरीले जनाएको छ । घिमिरेको साथबाट विभिन्न व्यक्ति तथा संस्थाले उनको नाममा दिएका करिव ३८ लाख रकमको ६ थान चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी प्रमुख एसपी थापाले अवैध रुपमा जुवातास खेलाइरहेको भन्ने सूचना पाएपछि परिसरमा कार्यरत प्र।नि। शशीघर शर्मा र प्र।नि। सुदन के।सी।को कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी दिइन ।

Loading...