८० वर्षपछि पुनः फाँसीमा झुन्ड्याइए शुक्रराज शास्त्री

 

काठमाडौँ। आजभन्दा ८० वर्ष अगाडि राणाहरुले आफ्नो विरोध गरेको भन्दै शुक्रराज शास्त्रीलाई टेकुस्थित खरिबोटमा झुन्ड्याएर हत्या गरेका थिए । निरङ्कुश जहानीय राणा शासनको विरोधमा उत्रिएका ती बहादुर योद्धाहरुलाई झुन्ड्याएको त्यो दृष्य ८० वर्ष पछि शुक्रबार दोहरियो। ८० वर्षपछि शुक्रराज शास्त्री फेरि निरंकुश शासकको फाँसीमा बीच सडकमै झुन्डिए ।

८० वर्ष अगाडिको त्यो दृष्य शिल्पी थिएटरले दोहोरिएको हो । सहिद शुक्रराज शर्मा शास्त्रीको भूमिकामा थिए शिल्पी थिएटरका रंगकर्मी युवराज घिमिरे । साथमा खाकी वर्दीमा हतियार सहितका २ जना प्रहरी । २ जना सशस्त्र प्रहरीले नेल लगाएका सहिद शुक्रराजको भूमिकाका रहेका घिमिरेलार्इ समाउँदै टेकुस्थित खरीबोटमा ल्याए । त्यही खरिको बोटमा उनलाई झुण्ड्याउन फासी तयारी अवस्थामा राखिएको थियो ।

उग्र मुद्रामा रहेका सिपाहीहरु हातमा समाएका हतियारको डम्बले तर्साउदै थिए शुक्रराजलाई । कालो टोपी, सेतो भोटो, खैरो धोती र कालो फ्रेमवाला चस्मा लगाएका शुक्रराजले गर्विलो मुस्कान छर्दै आफ्नै हातले गलामा फाँसीको फन्दा पहिरिए । गलामा फाँसी लाउदै उनले भने, ‘तानाशाही राणाहरूले मलाई ज्यानको सजाय सुनाएपछि मेरी सुत्केरी श्रीमती र भर्खरै जन्मिएकी छोरीलाई भेट्न पनि दिएनन् । उपचार नपाएर दुवैको मृत्यु भयो । मभन्दा अघि नै उनीहरूले दर्दनाक मृत्यु भोग्नुपर्‍यो ।’  मोटो गीता हातमा लिएका शुक्रराजले ढोगे । सिपाहीले उनी उभिएको कुर्सी धकेले । अनि केहीबेरमै शुक्रराज सदाको लागि अस्ताए।

जानकारहरु त्यो बेला सम्झिन्छन । १९९७ माघ १० गते, राति १२ बजे फाँसीको फन्दामा झुन्डिनुअघि मुख्य सडक सुनसान सन्नाटाले छाएको थियो। कोर बस्ति छेउमै रहेको टेकुमा सिपाही तैनाथ थिए। पर पाखाबाट लुकेर चियाउदै मानिसहरुले नेवार भाषामा ुमनु स्याइ न न्हीु भनेका थिए । राणा शासनविरूद्ध यदि जो कोहीले बोल्थे वा केही गतिविधिमा सम्लग्न हुन्थे भने उनीहरु राज्य बिरुद्दको सजाएको भागीदार हुन्थे । कसैले अगाडि जाने हिम्मत कसैको पनि थिएन।

शुक्रराजलाई फासी दिएको केही समयपछि सिपाहीहरु त्यहाँबाट गए । तर, झुन्डिएका शुक्रराज सामुन्ने एक व्यक्ति उभिदै स्यालुट मार्दै हिन्दी भाषामा भने ुबेटा हो तो येसाु उनी अरु कोही नभई शुक्रराज शर्माका आफ्नै बाबु थिए। नागरिक अभियन्ताले निरङ्कुश शासनको झझल्को दिने गरी प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको क्रममा यो नाटक यसरी मन्चन गरेका हुन्।