तीन मन्त्री र सचेतक फेर्ने सहमतिपछि मुख्यमन्त्री शाहीको पद जोगियो, सबै बोलाइए काठमाडौं

काठमाडौं, २७ असोज । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद धरापमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । पार्टी केन्द्रमा शिर्ष नेताहरुको सहयोगमा उनले आफ्नो पद जोगाउन सफल भएका हुन् ।

स्रोतका अनुसार पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमति भएपश्चात नयाँ सहमति गरिएको छ । स्रोतका अनुसार कर्णाली प्रदेशमा माधव नेपाल समूहले भागवण्डामा कुरा मिलेपछि अविश्वासको प्रस्ताव अघि बढाउने स्टेपबाट ब्याक हटेको छ । त्यसका लागि मुख्यमन्त्री शाहीलाई नेपाल समूहबाट एक जनालाई संसदीय दलको सचेतक बनाउने र तीन जना सांसदलाई मन्त्री बनाउन सहमत गराइएको छ । यसरी भागवण्डा मिलाउन पूर्व माओवादी समूह तयार भएपछि नेपाल समूहले पनि अहिले नै अविश्वासको प्रस्ताव अघि नबढाउन सहमत भएको बताइन्छ ।

केन्द्रमा केपी ओलीसँग संघर्ष गरिरहेका सत्तारुढ नेकपाका एक अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहबीच कर्णाली प्रदेशमा भने एकता देखिएन् । कर्णाली प्रदेशमा पूर्व माओवादीकै तीन सांसदहरु मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका पक्षमा हस्ताक्षर गरे । त्यसमध्ये कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घती विष्ट समेत छन् । त्यसैगरी प्रदेश सरकारमा अर्थमन्त्री रहेका प्रकाश ज्वाला वाहेक माधव नेपाल समूहका ७ जना सांसदहरु मुख्यमन्त्रीविरुद्ध उभिए ।

विकसित परिस्थितिका बारेमाम छलफल गर्न मंगलबार एक बैठक बोलाइएको र सोही बैठकमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेको बताइएको छ ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका थिए । तर, त्यसअघि नै मुख्यमन्त्री शाहीले संसदीय दलको प्रमुख सचेतकबाट गुलावजंग शाहलाई हटाएर उनको ठाउँमा सांसद सिता नेपालीलाई नियुक्त गरेका थिए । पूर्व माओवादीबाट सांसद बनेकी सांसद नेपालीले शाहले बोलाएको भन्दा तीन घन्टा अघि ११ बजे नै शाहीको पक्षमा रहेका सांसदहरुबीच छलफल चलाउन बैठक राखेकी थिइन ।

यसैबीच विकसित घटनाक्रमका बारेमा छलफल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश कमिटिका पार्टी पदाधिकारीलाई काठमाडौं आउन निर्देशन दिएको थाहा हुन आएको छ ।

मंगलबार बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा भएको विवादका बारेमा छफल भएको थियो । उक्त छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाउने सहमति बनेको बताइएको छ । त्यसैगरी प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र सांसद गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको छ ।

Loading...