चंखेली वरिपरि डिग्रीधारीहरु खच्चरमा लागेर गर्छन मासिक ५० लाख आम्दानी

हुम्ला । हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट । कुनै समय यो बाटो एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों । तर, आजभोलि बाटोमा एक्लै हिंड्न समय पर्खनु पर्छ ।

मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म मोटर पुगेकाले हुम्लाको तीन गाउँपालिकाको करीब एक सयभन्दा धेरै गाउँहरुमा विभिन्नि प्रकारका आभारभूत आवश्यकताका सामाग्रीहरुका साथै विकास निर्माणका सामानहरुको ढुवानी र ब्यापार यही बाटो भएर हुने गर्छन । यसबाट सस्तोमा चाहेको सामानहरु गाउँमा पाउन सजिलो भएको चंखेली गाउँपालिका ऐडीबाडाका नरवीर बुढा बताउँछन् ।

यो क्षेत्रमा सामानहरु ढुवानी र ब्यापार गर्नका लागि हुम्लामा एक सय र मुगुमा दुई सय खच्चरहरु किनिएको अध्ययनबाट थाहा भएको छ । यसका लागि ३ करोडभन्दा धेरै लगानी खच्चर व्यवसायमा गरिएको छ । यो व्यवसायबाट एक सय जनाले रोजगार पाएका छन् । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्म सामान आउने जाने गरेको छ । यी खच्चर ब्यवसायीहरुले सस्तोमा गाउँ गाउँमा सामानहरु पुगाउने गरेका छन् ।

खार्पुनाथ गाउँपालिकाको सुनखाडादेखि मुगु जिल्लाको भट्टेचौरसम्म करीब ८ दर्जन होटलहरुको आय व्यय खच्चर व्यवसायले नै धानेको छ । प्रत्येक होटलमा दैनिक एक हजारदेखि १० हजारसम्म ब्यापार हुने गरेको चंखेली गाउँपालिका वडा नं १ जाच्चेका होटले दन्त बोहरा बताउँछन् ।

यहाँ प्रति केजी प्रति खच्चर ७ रुपैंयादेखि ११ रुपैंयासम्म ढुवानी भाडा पर्ने गरेको छ। मुगु दक्र्या गाउँका युवा खच्चर व्यवसायी बासुदेव बडुवाल स्नातक पढेर पनि यो स्वरोजगारीमा लागेका छन् । करीब ४ लाख लगानी गरेर खच्चर व्यवसायमा लागेका उनले मासिक ६० हजारदेखि २ लाखसम्म कमाएका छन् । त्यसमा उनी न्यूनतम मासिक ६० हजार बचत हुने बताउँछन् ।

खच्चरको ढुवानी वर्षको दुई मौसम बढी चल्छ । वैशाखदेखि असारसम्म र कात्तिकदेखि फागुनसम्म राम्रो कारोवार हुने गरेको व्यवसायीहरु बताउँछन् ।

यो व्यवसायले एकातिर हुम्लाका गाउँहरुमा सस्तोमा सामान पुगेको छ भने अर्कातिर खेर गएको घाँस र स्याउलासोतर पनि यसैमा लाग्ने भएकोले त्यसबाट पनि राम्रो आम्दानी भएको छ । साथै दाना तथा होटलबाट पनि राम्रो आम्दानी हुने चंखेली गोगीमायाका होटले प्रेमबहादुर शाही बताउँ छन् ।

यो वर्ष सामुदायिक वनबाट अनधिकृत रुपमा संकलन गरेका विभिन्न प्रकारका जडिबुटीहरु बिक्री गर्न नसक्दा गाउँ गाउँमा पैंशा पस्न नसके पनि ढुवानीमा भने कमी नआएको देखिएको छ । यो व्यवसायबाट मासिक ५० लाखभन्दा धेरै रकमको कारोवार हुने गरेको छ ।

Loading...