नेपाली मिडियामा बहस छेड्न पत्रकार विद्यार्थी संगठन गठन

काठमाडौं । पत्रकारिताको अध्ययन, अध्यापन तथा अभ्यास गरिरहेकाहरुलाई समेटेर नयाँ संगठन गठन गरिएको छ । पत्रकारिता क्षेत्रलाई परिवर्तनको प्रवाहमा जोड्न बहस छेड्ने उद्देश्यका साथ यो संगठन गठन गरिएको बताइएको छ ।

पत्रकार विद्यार्थी संगठन, नेपाल नामक हालै गठन गरिएको संगठनका संयोजक मुक्ति गैरे रहेका छन् । हाल १३ सदस्यीय कार्यसमिति गठन गरिएको संगठनमा पत्रकारितामा पनि क्रियाशील रहेका र विद्यार्थी आन्दोलनमा समेत आवद्ध भएकाहरु छन् । संयोजन समितिमा केवि मल्ल, मोहन निवाङ, धनबहादुर नेपाली, गंगा भण्डारी, दिपा शर्मा, डिबी शाही, भगवति पाण्डे, सांंस्कृति डुम्रे, सम्झना भण्डारी, सपना कुँवर, प्रेमिका सिंह र दिपक बस्याल रहेका छन् । संयोजक गैरेले छिट्टै यसलाई बृहत रुप दिइने जानकारी पनि दिएका छन् ।

संयोजक गैरेले संगठन सबै प्रगतिशील र जनपक्षीय विचार राख्ने पत्रकारहरुको साझा प्लेटफर्म हुने बताए । उनले हाल पत्रकारिता क्षेत्र विकृत हुँदै गएको बताउँदै यसले समाजमा पत्रकारिताप्रतिको बुझाइलाई बिगारेको बताए । विगतमा राजनीतिक परिवर्तनमा नेपालको पत्रकारिता क्षेत्रले उल्लेख्य भूमिका खेलेको तर अहिले पत्रकारिताका नाममा गलत आसयका राजनीतिक र व्यापारिक स्वार्थहरु हावी भएको उनको भनाई छ । उनले पत्रकारिताले आम जनताका भावना, चाहना, विचार र आवाज बोक्नुपर्ने बताए । त्यसैका लागि आफूहरुले संगठनमार्फत बहस गर्ने र एउटा अभियान सञ्चालन गर्ने पनि उनले जानकारी दिए ।

 

Loading...