काठमाडाैं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ।
सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेको समाचारमा उल्लेख छ। तर बैठकमा भएका ठोस सहमति भने सार्वजनिक गरिएको छैन।
बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको एएनआईले उल्लेख गरेको छ।
चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको विदेशमन्त्री जयशंकरले बैठकमा बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ।