चितवनको सौराहमा भैसीको अन्तराष्ट्रिय सम्मेलन गरिदै

चितवन, १९ कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुने भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुन लागेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो।

‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुनेभएका छन्।

सम्मेलन मूलआयोजक समितिका अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डिन प्रा.डा. शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी हुने जानकारी दिइन्।

उनीहरुले भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्। भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गरिने उनले बताइन्। यसमा १४ वटा आमन्त्रित कार्यपत्र रहनेछन्।

आयोजक समितिका सदस्यसचिव डा. भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनि बोरगिज, एशियन बफेलो एसोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवं विशिष्ट वैज्ञानिकको सहभागिता रहने छ।

नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारीे सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी तथा गैरसरकारी संस्थाको बीचमा बृहत सञ्जाल निर्माण र सहकार्य विस्तारमा सघाउने विश्वास व्यक्त गरे।

नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंँसी र यससँग सम्बन्धित उत्पादन अभिवृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने उद्देश्य लिइएको पनि देवकोटाले बताए।

दक्षिण एशिया, पूर्वी, मध्यपूर्वी र मध्यपश्चिम एशिया, तटीय देश एवं दक्षिण र मध्य अमेरिकी देशको पशु उत्पादनको मुख्य हिस्सा भैँंसीले ओगटेको छ। भैँंसीको उत्पादनले नेपालको खाद्य एवं आर्थिक क्षेत्रमा पनि ठूलो योगदान गरिरहेको छ।

पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले नेपालमा कुल दुग्ध उत्पादनको दुई तिहाई भन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंँसीको उत्पादनले ओगटेको बताए।

विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ। विश्वभरमा १८ करोड ५० लाख भैँसी पालिएको अनुमान गरिन्छ। यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँंसीपालन हुँदै आएको उपकुलपति ढकालले बताए।

यो सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने पनि उपकुलपति ढकालले जानकारी दिए। नेपालमा तीनवटा रैथाने जात र दुईवटा उन्नत जातका भैंँसी पालिँदै आइएको छ। रैथानेमा लिमे र पार्कोटे स्याङजा, पर्वत, बाग्लुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैँसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ। उन्नत जातका मूर्रा र क्रस मूर्रा जातका भैँंसी तराई क्षेत्रमा पालिँदै आएको छ। सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ।

Loading...