‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न

मूलधारको पत्रकारितामाथि सामाजिक सञ्जाल हावी, वैकल्पिक धारकाे खाेजी

काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो ।

कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश तथा विदेशबाट करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका अर्का वक्ता विश्वभक्त दुलाल (आहुति) ले जनपक्षीय पत्रकारिताको नाममा पार्टीको पक्षपोषण भइरहेको बताए । ‘पार्टी पक्षीय र जनपक्षीय पत्रकारिता एउटै होइन’, उनले उदाहरण दिँदै भने, ‘एउटा कविलाई पार्टीको मात्र कविता लेख्न भनियो भने त्यो कवि होइन, ऊ पार्टीको पिछलग्गु हो ।’

जनपक्षीय धारले पूँजीवादको विरोध मात्रै गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हामी पुँजीवादले यसो गरे, उसो गरे मात्र भन्छौँ । तर त्यसका विरुद्ध योजना बनाउँदैनौं । समस्या यहिनेर छ ।’

अहिले सामाजिक सञ्जाल सञ्चारको वैकल्पिक धारको रुपमा आएकोले यसलाई लोकतन्त्रको महान विस्तार मान्नुपर्ने उनले बताए । तर, यसको सही प्रयोगमा सचेत हुनुपर्ने उनको भनाई थियो । प्रविधिलाई प्रयोग गर्नै नजानेर पनि हामी पछिपरिरहेको पनि उनले बताए । अहिलेको विधिलाई प्रयोग गरेर अधिकतम फाइदा लिनुपर्ने उनले बताए ।

जनपक्षीय नारा बोकेर हामी पुजीपतिकै वरिपरि घुमिरहेको पनि उनको आरोप थियो । ‘हामी खाली विज्ञापनको पछि मात्रै कुदिरह्यौं । हुँदा हुँदा पत्रिका जोगाउनका लागि जनपक्षीय पत्रकार पुँजीपतिकोमा पुग्नुपर्ने बाध्यता भयो’ मेक्सिकोको उदाहरण दिँदै उनले भने, ‘तर हामीले के बुझ्नु महत्वपूर्ण छ भने, मेक्सिकोमा एउटा यस्तो पत्रिका छ, जसमा एउटा पनि विज्ञापन छैन । तर त्यो पत्रिका मेक्सिकोमा धेरै बिक्री हुने पत्रिका मध्येको दोस्रो स्थानमा पर्दछ ।’ विज्ञापन भन्दा पनि जनपक्षीय विषयवस्तुमा केन्द्रित भएर पत्रकारिता गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले आज सूचनाहरु आपसमा लडिरहे पनि हामीले संकलन गर्न र व्यवस्थापन गर्न नसकिरहेको बताए । उनले भने, ‘हामी आज मनोयुद्धलाई झेल्न सकिरहेका छैनौं ।’

पत्रकारहरुमा प्रश्न गर्न सक्ने सामथ्र्य पनि घट्दै गएको उनले बताए । जनपक्षीय मिडिया अथवा जनताको मिडिया बनाउन पत्रकारहरुले आलोचनात्मक चेत राख्नुपर्ने र प्रश्न गर्नुपर्ने आवश्यक रहेको उनले बताए । पत्रकारिता गर्दा अपनाउँदै आइएको, प्रयोग गरिँदै आएको ५ध् १ ज् मध्ये किन र कसरी भन्ने प्रश्न हराई सकेको उनको भनाई थियो । उनले भने, ‘त्यसैले पत्रकारिता गर्नेले किन र कसरी खोज्न आवश्यक छ ।’

‘आज जनपक्षिय पत्रकारितालाई पनि राजनीतिक धारले पेल्दै लगेको छ’ उनले अगाडि भने, ‘त्यस्तो हुनुहुन्न । किनकी राजनीति र पत्रकारिता फरक कुरा हो ।’ राजनीति र पत्रकारिताबीचको भेद छुट्याउन सक्नुपर्ने उनको भनाई थियो ।

फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले निरन्तर मिडियाको भूमिकाका बारेमा बहस गर्दै आएको छ । एफएफएनजेले यस विषयमा आगामी दिनमा पनि सिरिजमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Loading...