आजका दिनसम्मको खबर अनुसार दुइ लाख बढि मानिसको ज्यान लिईसकेको कोरोनाले नेपालमा भने अझैं ज्यान लिन सकेको छैन । केहि दिन यता संक्रमितको संख्या बढेता पनि अरुतिरकाे संक्रमण हेर्दा कम हो । संक्रमितहरुको स्वास्थ्य अवस्था पनि हालसम्म सामान्य भएको खबरले नेपाली जनमन कृतघ्न छ । यो अवस्था यहि वरिपरीमै सिमित रहेर संक्रमितहरुको स्वास्थ्य पूर्णरुपले निको भएमा हामी नेपालीहरु वास्तवमै ‘भाग्यशाली’ ठहर्नेछौं । किनकि, यो रोगका बिरुद्ध लड्ने औषद्यि अझैं पत्ता लागिसकेको छैन । विकासको निकै माथिल्लो चुलिमा पुगेका यूरोपेली देशहरुले समेत थामि नसकेको यो कहर हाम्रो जस्तो भ्रष्टाचारको रसातलमा जाकिएको सरकार र प्रशासनतन्त्र भएको देशमा नितान्त ‘रामभरोसे’ तालले पनि हामी नेपालीहरु सुरक्षित रहनु बडो चमत्कारकै विषय हुनेवाला छ ।
कोरोनाको डढेलो विश्वव्यापि बन्दै जाँदा फिरङ्गी पुँजीवादका नन्दी भृंगिहरुले त्यसका फिलिङ्गा नेपाल पुर्याउने करिब निश्चित थियो । अन्ततः त्यहि भयो । गजबको कुरा त के भयो भने कोरोना भित्रिदा नभित्रिदै विभिन्न तह र रंगका व्यापारीहरु आफ्नो स्वाभाविक चरीत्र अनुसार त्यसलाई मुनाफा आर्जनको ‘माल’ बनाउन तँछाड मछाड गर्न लागे । व्यापारीक पुँजीवादको दबदबा रहेको दुनियाँमा त्यो हुनु कुनै नौलो विषय पनि थिएन । अनि हाम्रो देश, त्यसबाट कसरी अछुतो रहन सक्थ्यो र ? सबैभन्दा वेजोड परिदृश्य त यहाँ के भयो भने ‘राजनीतिक व्यापारीहरु’ यो लिगलिगे दौडमा सबैभन्दा अग्र स्थानमा देखा परे । ‘कम्निष्ट’ सरकारले त्यसको शिर्ष नेतृत्व गर्यो । केन्द्रदेखि स्थानिय भनिने ठाउँसम्मका सरकारहरुका वे‘दागि’ अनुहारहरु ऐनामा झैं झल्झली जनसमक्ष उदाङ्गीए ।
कोरोना बिरुद्धको महायुद्ध अझैं जारी छ । आतङ्कको तुवाँलोले आउदा दिनहरु अझैं धुमिल पारिरहेको छ । यो युद्धको सम्भावित पराजय मानव अस्तित्वका लागि निकै महंगो भुक्त्तानि हुनेवाला छ । आशा गरौं आजको उच्च मानविय चेतना अर्थात् ज्ञान र विज्ञानको एकत्वमा ढिलै भएपनि मानव जातीले कोरोना भाईरस माथि शानदार विजय हासिल गर्नेछ र मानिसले एक पटक फेरी आफुलाई यो पृथ्वीको सर्वश्रेष्ठ प्राणी घोषित गर्ने छ । संसारभरीको प्रयास छिटै एउटा आशापुञ्ज बनेर प्रकट हुनेछ । वैज्ञानिकहरुको अथक प्रयत्न र हाम्रो अपेक्षाकाबीच समयको एउटा अवधि भने कायमै छ । यो अवधि कति लामो या छोटो हुनेछ भन्ने अझैं कुनै एकिन छैन । तबसम्म मानवजातीले कोरोना बिरुद्धको प्रतिरक्षात्मक युद्धलाई निरन्तर जारी राख्नु पर्नेछ । त्यसका लागि हामी मानिसहरुसँग अझ नेपाल जस्तो देशका जनतासँग केवल दुई वटा अस्त्र प्रभावी देखिन्छन् – संयमता र आत्मविश्वास ।
हरेक युद्ध र प्रत्येक लडाईमा संयमता र आत्मविश्वास निकै प्रभावकारी अझ त निर्णायक अस्त्र हुने गर्दछ । संयमता र आत्मविश्वास बिनाको लडाईमा पराजय प्रायः निश्चित हुन्छ । लडाईको क्रममा आईलाग्ने कतिपय अकल्पनिय परिणामहरुले मानिसलाई पलभर उत्तेजित र आवेगात्मक बनाईदिन्छ । त्यो बेला अति कष्ट सहन गर्दै विवेकपूर्ण तवरले पूर्ण आत्मविश्वासका साथ पाईला चाल्नु हरेक युद्धका कमाण्डर र सिपाहीहरुको कर्तव्य हुन जान्छ । कोरोना बिरुद्धको यो विश्वव्यापी युद्धमा आवेग, उत्तेजना र संवेदनाका आवाजहरु, कारुणिक परिदृश्यहरु एक पछि अर्को थपिदै गईरहेकाछन् । हरपल त्यसले मानवमनलाई घोचिरहेको छ । चिमोटिरहेको छ, चिथोरिरहेको छ । संसारभरका सरकारहरु यो लडाईमा आआफ्नो स्थानबाट लडाईको नेतृत्व गरिरहेकाछन् । वैज्ञानिक र डाक्टरहरु यो युद्धमा विशिष्ट महारथीको जिम्मेवारीमा छन् । उनिहरुले नै प्रत्यक्ष ब्याटलको कमाण्ड गरिरहेकाछन् । उनिहरुले पत्तो लगाउने औषधि र त्यसपूर्व गरिने प्रतिरक्षात्मक उपचारले मानव जीवनको रक्षा हुनेछ, भईरहेको छ । सारथीहरुको स्थानमा– नागरीक समाज, संचार जगत र अरु थुप्रै पंक्तिहरु रहेकाछन् । सिपाहीको स्थानमा जनताहरु रहेकाछन् । यो बेला समग्र पंक्तिमा हुने जीवन्त समन्वय र उच्च समर्पणले मात्र कोरोना महायुद्धमा समग्र मानव जातीले विजय हासिल गर्नेछ । हर देशले लडाईमा आफ्नो स्थान सुदृढ र सुरक्षित गर्नेछ । हो, यो बेला समग्र युद्धमा विजय हासिल गर्न, हर मोर्चाको लडाई जित्न राज्य र जनताबीच विश्वास र समर्पणको उच्चता निकै जरुरी अझ त अत्यावश्यक छ ।
यो महासंकटको बेला संयमताको अर्थ हो– राज्यका हर प्रयत्नहरुप्रति जनताको पूर्ण सहयोग । आत्मविश्वासको अर्थ हो– मानव जिवनको सुन्दर भविश्यका लागि वैज्ञानिकहरुका हर प्रयत्नहरुप्रतिको आशावादीता । हाम्रो देशको सापेक्षतामा यो बेला संयमताको प्रधान विषय भनेको लकडाउनको भरपुर पालना गर्नु र गराउनु हो । त्यसैगरी आत्मविश्वास भन्नाले कोरोना लागेपछि मरिन्छ भन्ने कुरा मात्र सोच्ने नभएर त्यसलाई परास्त पनि गर्न सकिन्छ भनेर मानसिक र शारिरीक रुपले आफुलाई सक्रिय बनाउनु हो । लकडाउनको एक महिना पुग्नै लाग्दा लाखौं लाखौं गरीव र वेरोजगार जनताको साँझ बिहानको छाक बन्द भएको छ । अस्पतलमा कोरोनाबाट संक्रमित व्यक्तिहरुले तातो पानी सम्म खान पाएका छैनन् । कुहिएको चामल राहतमा वितरण भईरहेको छ । स्वास्थ्य सामाग्रि गुणस्तर हिन र त्यो पनि अप्रयाप्त छ । अस्पतालमा आवश्यक उपकरणहरुको निकै अभाव छ । निजि अस्पतालहरुले विरामी भर्ना लिन मानिरहेका छैनन् । कतिपय डाक्टर र स्वास्थ्यकर्मिहरु कोरोना आशंकित विरामिको जनिकै जान मान्दैनन् । महंगि र कृत्रिम अभाव बढिरहेको छ । यहि बेला सरकार भ्रष्टाचारमा धम्मरधुस लागिरहेकोछ । लकडाउनको पालना गर्ने हामी जनता हजारौं जना एकै ठाऊँमा जम्मा भएर जात्रा मनाईरहेकाछौ, पिकनिक गरीरहेकाछौं, क्वारेन्टीनमा बस्न मानिरहेका छैनौं ।
राज्य र जनताप्रति विश्वास र जिम्मेवारीको यो दूरी किन ? के यो तरीकाले हामि कोरोना विरुद्धको महायुद्धमा जित हासिल गर्न सक्छौं ? राज्य र नागरिक हामि दुबै पक्षले स्वयम्लाई एकपटक राम्रोसँग प्रश्न गर्नु अनिवार्य छ । राज्यले हामि नागरिकप्रतिको जिम्मेवारी कुनै हालतमा पनि पुरा गर्ने छ र त्यसको बदलामा राज्यलाई हामिले पनि हर सम्भव सहयोग गर्न तयार हुनुपर्छ भन्ने आत्मबल सहितको नागरिक विश्वास र कर्तव्य बोध आजको पहिलो आवश्यकता हो । आत्मविश्वास र संयमताको मुख्य श्रोत नै यहि हो । विडम्बना, यहि तत्वको अभाव आज सबभन्दा ज्यादा खड्कीएको छ । हाम्रो देशमा यतिबेलाको मुख्य चुनौति भनेकै जनता सरकारप्रति विश्वस्त नहुनु र राज्यले जनताप्रति समर्पित भएर काम नगर्नु हो । वास्तवमा भन्ने हो भने यो महासंकटलाई सिंगो मानव जातीले प्रकृतिका बिरुद्धको युद्धमा एउटा अवसर बनाउन जरुरी छ । त्यसैगरी प्रत्येक देशको राज्यले जनताको आत्मविश्वास जित्ने स्वर्णिम अवसरका रुपमा उपयोग गर्नु आवश्यक छ ।
संसार भरी र हाम्रो देशमा पनि लकडाउन पटक पटक थपिदै गईरहेको छ । लकडाउन प्रतिरक्षाको एक मात्र वाध्यात्मक उपाय बनिरहेको छ । लकडाउन स्विकार गर्नु जनताको वाध्यता, आवश्यकता, कर्तव्य सबै हो । तर, हाम्रो सरकार लकडाउन बढाउन जति उत्प्रेरित छ त्यसबाट उत्पन्न हुने अन्य थुप्रै कठिनाईहरुप्रति सजग भने छैन । कृत्रिम अभाव र संभावित ठूलो भोकमरीप्रति सरकार अनदेखा गरिरहेको छ । राज्य संचालकहरुलाई थाहा भएकै कुरा हो कि मानव दुनियाँका लागि मृत्युको छायाँ भन्दा भोकको आगो अझ डरलाग्दो ज्वालामुखि हुने गर्दछ । यसै पनि मर्ने स्थितिमा भोकको मृत्यु थपियो भने त्यो बेलाको परिस्थिति अझ अकल्पनिय र भयानक हुनसक्छ । निश्चित हो कि त्यो बेला परम्परागत मुल्य र आदेश प्रणालीहरु ध्वस्त हुन्छन् । दुनियाँको राजनीतिक मानचित्र नै उलटफेर हुन सक्छ । टर्किका गृह मन्त्रीले जस्तो राजीनामै दिने अवस्था अझै नेपालमा अझैं आईसकेको छैन । उता राज्य भने लकडाउनको अस्त्रले मानविय सुझबुझ र अधिकार माथि नै लकडाउन लगाउन उद्दत भईरहेको देखिन्छ । ओम्नी समुहको घटिया कर्तुतलाई चोखो बनाउन प्रधानमन्त्री आफै सक्रिय हुनु त्यसको एउटा ज्वलन्त प्रमाण हो । यि र यस्तै अरु थुप्रै घटनाहरुले नेपाली जनताको मनमा उत्तेजनाको आगो क्रमशः झोसिरहेको छ । यो त संयमता बढाउने होईन संयमता भत्काउने तरिका भयो । आत्मविश्वास बढाउने होईन आँत कपाउने तरिका पो भयो ।
वास्तवमा संयमता र आत्मविश्वासको मानविय विशेषता भनेको सामुहिक प्रयत्न हो । समुहका एकादुईले मात्रै गर्ने असल या खराब क्रियाकलापले सिंगै समुहलाई प्रभावित गरिदिन्छ । महासंकटको यो बेला राज्य, राज्यका अंगहरु र प्रत्येक नागरिकले एक अर्को माथि सकारात्मक या नकारात्मक प्रभाव पारीरहेकाछन् । आवश्यक कुरा यो हो कि राज्य सबैभन्दा जिम्मेवार बन्नु पहिलो कर्तव्य हो । राज्यका निकायहरुकै क्रियाकलापले जनतामा नकारात्मक उर्जा प्रवाह गर्नु स्वयम्का लागि प्रत्युत्तपादक विषय हो ।
भनिन्छ ‘आत्म बलम् महा बलम्’ अर्थात् आत्मबल नै सबैभन्दा ठुलो बल हो । सरकारी नेतृत्वकर्ताहरुका दूर्नियत र हाम्रो राज्य प्रणालीमा रहेको परनिर्भरता, परजिविता जस्ता विषाक्त तत्वहरुले जनताको संयमता र आत्मविश्वासलाई कमजोर पारिरहेको छ । यो बेला समग्र जनताको मनोवल उचो पार्न प्रथमतः सरकारले नै पहल गर्नु जरुरी हुन्छ । आत्मबल बिनाको सेना या सेनापती, जनता या राज्य कसैले पनि विजय र प्रगतिको नेतृत्व गर्न सक्दैन । सत्य कुरा यो हो कि आत्मविश्वास तब मात्र संभव हुन्छ जब पारिवार, समाज र जनताप्रतिको उत्तरदायित्वलाई एउटा व्यक्ति, एउटा नागरीक र एउटा सरकारले गहिरोगरी वोध गर्न र गराउन सक्छ । त्यसप्रति इमान्दार हुन सक्छ । कुहिएको चामल वितरण गरेर राज्यले जनताको आत्मविश्वास जित्न सक्दैन । न त एकाध पक्षलाई घोषणा गरिएको विमा प्याकेजले नै त्यो सम्भव हुनसक्छ । राज्यले यो बेला कतिपय रणनीतिक घोषणाहरु जारी गर्न आवश्यक छ । जस्तो कि स्वास्थ्यमा निजिकरणको अन्त नितान्त आवश्यक छ । त्यसको पहल यहि विन्दूबाट सम्भव हुन सक्छ । कोरोनाको आशंकामा विरामी लिनै नमान्ने र आवश्यक भौतिक पूर्वाधार तथा सामाग्रि नहुने अस्पतालहरुलाई राष्ट्रियकरण किन नगर्ने ? विपन्न वर्ग र कोरोना विरुद्धको लडाईमा अग्र मोर्चामा खटिने पंक्तिलाई विशेष प्रोत्साहन जरुरी छ । तर भौतिक प्रोत्साहन सबथोक हुदै होईन । आम जनताको रोजगारी, आर्थिक आत्मनिर्भरता र नेपाल भारत खुला सिमानाको रणनीतिक विकल्प घोषणा किन नगर्ने ?
संयमता र आत्मविश्वासको अर्थ खराब आचरण र प्रवृत्तिको सहन गर्नु कदापि होईन । समग्र मानविय मुल्य र उज्यालो भविश्यप्रतिको आशावादीता एवम् त्यसको प्राप्तीका लागि कठोरताको सामना गर्नु संयमता र आत्मविश्वास हो । कोरोना महासंकटले वर्तमान पूजिवादी प्रणालीको विनाशक तत्वलाई उजागर गरिदिएको छ । त्यसको परनिर्भर र उपयोगितावादी सामाजिक मुल्यलाई नांगेझार पारिदिएको छ । प्रत्येक संकट र महासंकटहरुले मानविय मुल्य र मानव ज्ञानका सिमालाई समेत भत्काएर नविन मुल्य र उत्कृष्ट ज्ञानको ढोका खोल्ने गरेको इतिहास आत्मसात गरौं । कोरोना बिरुद्धको महायुद्धमा संलग्न हुदै गर्दा मानविय मुल्य र राजनीतिक प्रणाली भित्रका कोरोना भाईरसहरुलाई समेत नामेट पार्ने गरी संयमता र आत्मविश्वासको प्रतिरक्षा प्रणालीलाई सुदृढ गरौं ।
२०७७ वैशाख