एक हप्तापछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

बाहिर जाने र भित्र प्रवेश गर्न पूरै रोक लगाएर राजधानीमा लकडाउन खोल्ने छलफल

काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे ।

कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ । उच्च स्तरीय समन्वय समितिले बैठक बसेर विभिन्न विकल्पमाथि छलफल गरेर यस्ताे राय दिएकाे स्राेतले जनाएकाे छ । साे समितिले दिएकाे सुझाबका अाधारमा मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने बताइएकाे छ । एक हप्तापछि काेराेनाका संक्रमित बढी भेटिएका जिल्लाहरुकाे सूची तयार गरी बढी संक्रमित जिल्लाहरुमा लकडाउन कडा बनाउने, सीमामा पूर्ण रुपमा कडाइ बनाउने, कम प्रभावित जिल्लाहरुमा पनि बाहिरबाट भित्र अाउने र भित्रबाट बाहिर जाने कार्यमा कडाइ गर्ने तर भित्र भने सामाजिक दुरी कायम गर्ने गरी लकडाउन खाेल्ने माेडालिटीमा जाने छलफल भएकाे बुझिएकाे छ । 

समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष पनि निकालेको छ। समितिकाे बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पमा समेत छलफल भएकाे बुझिएकाे छ ।

त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ । समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु समन्वय समितिकाे बैठक सकेर बालुवाटार पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलमा भएकाे छलफल र निष्कर्षका बारेमा ब्रिफिङ गरेका छन।

Loading...