काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।
अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।
यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।
बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही समयमा नै अमेरिकामा नियमित काम सुरु हुनसक्ने बताएका थिए । तर त्यसको केही समयमा नै अमेरिका भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको हो । बिहीबार यो तथ्यांकबारे बोल्दै ट्रम्पले मुलुकमा उल्लेख्य मात्रामा भइरहेको कोरोना भाइरस परीक्षणको कारण धेरै संक्रमित फेला परेको बताए ।
अहिलेसम्म अमेरिकाको ५० ओटै राज्यमा भाइरसको संक्रमण फैलिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अहिलेसम्म ५ लाख ५२ हजार मानिसमा भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सीजिनपिङलाइ टेलिफाेन सम्पर्क गरेका छन् । उनले टेलिफाेन सम्पर्क गरी काेराेना भाइरस नियन्त्रणका लागि सहकार्य गर्ने प्रस्ताव राखेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले चीनले सार्वजनिक गरेको तथ्यांकमा पनि आशंका व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईंहरुलाई चीनमा कति (बिरामी) छन् भन्ने थाहा छैन ।’ ट्रम्पले भाइरस रोक्न थप कडाइका कदम चाल्ने कुरालाई भने अस्वीकार गरेका छन् । उनले अब छिटै नै अमेरिकीहरु आफ्नो काममा फर्किने दाबी गरे । बीबीसीबाट