कोरोनाको त्रास: १ सय १३ मुलुकमा, मृतकको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विश्वको १ सय १३ मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि उपचार भइरहेको छ भने ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो । इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ ।

यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०-३० जनाको मृत्यु भएको छ भने अमेरिकामा २६ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा भने हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । युएई र अष्ट्रेलियामा गरी ३ जना नेपाली संक्रमित भएका छन् । चीनबाट नेपाल आएका एक संक्रमित नेपाली भने संक्रमणमुक्त भैसकेका छन् ।

Loading...