तीन अर्ब ४८ करोड लागतमा बन्ने धरहरा पुनर्निर्माण कार्य ३३ प्रतिशत पूरा

काठमाडौं, २७ फागुन । भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण वि सं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र रुपमा काम अघि बढेको छ । अहिले निमार्ण काम जारी रहेको छ । धरहरा पुनर्निर्माण कार्य हालसम्म ३३ प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमानका अनुसार रु ८५ करोड खर्च भएको जानकारी गराएका छन् ।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनर्निर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहने छ ।

बगैंचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Loading...