त्रिशूली बाढीपछि आठ जिल्लाबाट २८९ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न आठ जिल्लाबाट २८९ जनाको शव फेला परेको छ।

प्राप्त विवरणअनुसार दिउँसो ३ बजेसम्म रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।

बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बेपत्ता भएकाहरूको खोजीलाई सुरक्षा निकायले निरन्तरता दिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी नदी तथा आसपासका क्षेत्रमा खोजी भइरहेको छ।

बाढीमा अझै कति व्यक्ति बेपत्ता छन् भन्ने यकिन विवरण संकलन भइरहेको बताइएको छ। उद्धार टोलीले सम्भावित जोखिमयुक्त स्थानमा समेत खोजीलाई तीव्र बनाएको छ।