तरकारीमा परनिर्भरता घट्नुको साटो झन् बढ्यो

काठमाडौँ, २४ माघ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा महँगो नै छ । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५र७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न ।

यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ । चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो ।

आपूर्ति बढेन

बजारमा तरकारीको माग बर्सेनि बढेको छ तर यो अनुरूप आपूर्ति नहुँदा यसको भाउ पुस महिनासम्म महँगो भएको थियो । अहिले क्रमशः घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक आठ सय मेट्रिक टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिए । चालू आर्थिक वर्षको सात महिनासम्म बजारमा उपत्यकावासीको मागअनुसार आपूर्ति नहुँदा भाउ निरन्तर उकालो लागे पनि अब भने सस्तो हुने सङ्केत देखिएको उनको दाबी छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा बजारमा एक लाख ५२ हजार २६० मेट्रिक टन तरकारी भित्रिएको छ । समितिका अनुसार आर्थिक वर्ष २०७४र७५ मा दुई लाख २७ हजार ९५८ मेट्रिक टन तरकारी आपूर्ति भएको थियो भने आर्थिक वर्षमा २०७५÷७६ मा दुई लाख ८५ हजार ८९२ केजी तरकारी बजारमा भित्रिएको थियो ।

यो तथ्याङ्क हेर्दा तरकारीको आयात २४ प्रतिशतले बढेको देखिन्छ तर यो वर्ष भने चार प्रतिशत मात्रै आपूर्ति बढेकाले भाउमा असर परेको हो ।तरकारीको माग प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बढेको समितिले जानकारी दिएको छ । मागअनुसार आपूर्ति नहुँदा भाउमा असर परेको हो । गोरखापत्र दैनिकबाट।

Loading...