चढाउन सकिन मैले मेरो स्वतन्त्रताको भेटी

मणि काफ्ले

चुडेर फुल गुलाबको
थपक्क राखिदिएझै
निस्ठुर देबताको चरणमा
राख्न सकिन मैले
तिमिलाइ मेरो स्वतन्त्रताको भेटी
चढाउन सकिन
आफ्नै अस्तित्वको बली

पिलाएर बिष
धर्मको वा राजनीतिको
बेहोस बेहोस
बनायौ मेरो इतिहास
बिक्षिप्त बिक्षिप्त
बनायौ मेरो वर्तमान
तैपनि भुलेर
सबै कुराहरु
चट्टकै भुल्न सकिन
मैले मेरो अस्तित्व
बिर्सिएर पनि
बिर्सन सकिन मैले मेरो इतिहास पीडा

तिमीलाई खै के के दुख्छ कुन्नी
मलाई आफ्नै
इतिहास दुख्छ्
मलाई आफ्नै
चेतना दुख्छ
म आफू भएर पनि
सधै लुटिएको
यो घर गाउँमा सुनाइने
लोक कथा दुख्छ
अझ सबैभन्दा बढी त
मलाई होच्याउने
तिम्रो साहित्य दुख्छ

जब जब
मलाई ईतिहास दुख्छ
तिम्रो साहित्य दुख्छ
तिम्रो ब्यबस्था दुख्छ
त्यसले किन हो
दुःखी बनाएन मलाइ
बरु बिद्रोही पो बनायो

आशु आक्रोशको
आकाशबाट हैन
मेरै आँखाबाट खसेको हो
त्यसले रुन्चे बनाएन मलाई
बरु आक्रोशित पो बनायो

थुपारेर बालुवाको थुप्रो
नबन्ने रैछ पुल
बुझेपछि
आफुलाई पारी तार्ने डुङ्गा
आफै बनेको छु
आफू चढ्ने पहाड
आफैं बनेको छु
आफू खुसी हुने साहित्य
आफैं बनेको छु
अझ मूल कुरा त
जति गर्दा पनि पुजा
दिँदा पनि आफ्नै बलि
तिम्रो देबताले
नदिएपछि बरदान
म आफ्नै मन्दिरमा
आफुलाइ बरदान दिने
आफ्नो देवता
आफै बनेको छु ।