अत्याधिक हिमपातका कारण दर्जन बढी विद्यालयको रोकियो परीक्षा

दार्चुला, ३० मंसिर । दार्चुलामा अत्याधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकाभित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो । गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए ।

सो गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ । रोकिएका विद्यालयहरुमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ । सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिनुभयो । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ ।

चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताए । आगो तापेर बस्नु बाहेकको विकल्प नभएको धामीको भनाइ छ । यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।

Loading...