महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु, घरघरमा गुट भेला सिटौलालाई पेलेरै जाने देउवाको तयारी

काठमाडौं ३० मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र गुटगत टकराव उत्कर्षमा पुगेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटले केन्द्रीय समितिको बैठक निरन्तर बहिष्कार गरिरहेको छ भने, सभापति शेरबहादुर देउवा पेलेरै जाने गरी बैठक सञ्चालन गरिरहेका छन् ।महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु भएको छ । सभापति शेरबहादुर देउवा आफ्नो अनुकुलतामा पार्टीको महाधिबेशन गराउने पक्षमा छन् भने पौडेल र सिटौला समुह विधानअनुसार नै पार्टीको महाधिबेशन हुनुपर्ने पक्षमा छन् ।

पौडेल र सिटौला समुहले बहिष्कार गरेपनि देउवा समुहले केन्द्रीय समितिको बैठक स्थगित गरेको छैन । पार्टीका विभाग र जनवर्गीय संगठनलाई पूर्णता दिनेगरी देउवाले केन्द्रीय समितिको बैठक चलाईरहेका छन् । विभाग र जनबर्गीय संगठनको एजेण्डा आउनुभन्दा पहिलेनै पौडेल सिटौला समुहले महाधिबेशनको कार्यतालिकालाई लिएर बैठक बहिष्कार गरेका छन् ।

बैठक बहिष्कार भएपछि कांग्रेसका गुटगत भेलाहरु सक्रिय बनेका छन् । देउवा समुहको भेला बुढानीलकण्ठमा दैनिक बस्ने गरेको छ भने पौडेल समुहको बैठक कहिले महामन्त्री शशांक कोइराला र कहिले पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा बस्ने गरेको छ । पार्टीभित्रको गुटगत विवाद मिलाउन तीन दिनअघि सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा पुगेका थिए । उपसभापति विमलेन्द्र निधिसँग देउवा पौडेल निवासमा पुगेपनि समस्याको गाँठो फुकेन । देउवाले पौडेल र सिटौला समुहसँग सम्वाद गर्न निधिलाई जिम्मा दिएका छन् । निधि दुवै पक्षका नेताहरुसँग नियमित भेटघाट गरेपनि गाँठो फुकाउन सफल हुन सकेका छैनन् ।