शिक्षकको लिखित परिक्षा तीन चरणमा, पहिलोमा ५० र दोस्रोमा ४० अंक ल्याउनैपर्ने

काठमाडौं २३ मंसिर । अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परिक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ १० औं संशोधन ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।जस अनुसार अब सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा– एक सय पूर्णाङ्कको दिनुपर्ने व्यवस्था गरेको छ । यस्तै अन्तरवार्ता –२५ पूर्णाङ्कको व्यवस्था गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा यि तीन चरण सबै उम्मेदवारहरुकोे लागि अनिवार्य गरेको छ । साथै नियमावलीको दशौ संशोधनले २५ पूर्णाङ्क प्रयोगात्मक परिक्षाको पनि व्यवस्था गरेको छ ।

तर प्रयोगात्मक परिक्षा सबैको लागि अनिवार्य छैन् । तर, विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ, भन्ने व्यवस्था नियमावलीमा प्रष्ट गरेको छ । यस्तै नियमावलीले परिक्षामा कति अङ्क ल्याए उत्तीर्ण हुने भन्ने बारेमा पनि प्रष्ट व्यवस्था गरेको छ । नियमावलीको दशौ संशोधनले सामान्य परीक्षाको उत्तीर्णाङ्क पचास अङ्क, विषयगत परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क तथा अन्रवार्ता र प्रयोगात्मक परिक्षको उत्तीर्णाङ्क दश अङ्क हुनेछ, भन्ने व्यवस्था पनि प्रष्टरुपमा गरिदिएको छ । अब शिक्षकले स्थायी हुनको लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नै पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

जस अनुसार अब सामान्य परीक्षा अर्थात प्रथम चरणमा कम्तिमा ५० अंक ल्याएर पास भएका उम्मेदवारहरु मात्र दोस्रो चरणको लिखित परीक्षा अर्थात विषगत परिक्षामा सहभागी हुन पाउने छन् । यस्तै, लिखित परिक्षामा पास भएका उम्मेदवारहरु मात्रै तेस्रो चरणको अन्तरवार्तामा सहभागि हुन पाउने व्यवस्था पनि नियमावलीको दशौ संशोधनले नै गरेको छ ।

यसअघि भने, एक सय पूर्णाङ्कको लिखित परिक्षा लिने व्यवस्था गरिएको थियो । उक्त परिक्षामा ४० अंक ल्याएर पास भएपछि अन्तरवार्तामा सहभागी हुन पाइने व्यवस्था थियो । तर, त्यो व्यवस्थालाई परिवर्तन गरेर अहिले एक सय पूर्णाङ्कको सामान्य परिक्षा र थप एक सय पूर्णाङ्कको लिखित परिक्षाको व्यवस्था गरिएको हो ।

लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा सामान्य परीक्षामा प्राप्त अङ्कको पचास प्रतिशत र विषयगत परीक्षामा प्राप्त अङ्क जोडी हुने कुल प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरिनेछ ।

Loading...