सगरमाथासहित ६ हिमालमा एकैसाथ सरसफाइ गरिदै

काठमाडौं । सरकारले सगरमाथासहित ६ हिमालमा सरसफाइ गर्ने भएको छ। सगरमाथा (८८४८), मकालु (८४६३), धौलागिरी (८१६१), ल्होत्से (८५१६), आमादब्लम (६८१२) र पुमोरी (७१६१) हिमालमा सरसफाइको तयारी रहेको वातावरण विभागकी महानिर्देशक आभा श्रेष्ठ (कर्ण)ले बताइन्।

उनका अनुसार विभागले बनाएको सरसफाइसम्बन्धी कार्यविधि मन्त्रालयले स्वीकृत गरेको छ। सेनासहित संघसंस्थासँग मिलेर फोहोर संकलन गरिने उनले बताइन्। ‘हामी कसरी सरसफाइ गर्ने भनेर छलफलमा छौं’, उनले भनिन्।

प्रत्येक आरोहण दलले फोहोर व्यवस्थापन गर्न ४ हजार डलर पर्यटन विभागमा धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ। आरोहीले हिमालमा फोहोर छाडे धरौटी जफत हुन्छ। प्रत्येकले फर्किंदा अनिवार्य आठ किलो फोहोर फिर्तासमेत ल्याउनुपर्छ। सम्पर्क अधिकृतले अनुगमन नगर्दा हिमालमा फोहोर बढेको निष्कर्ष वातावरण विभागले निकालेको छ।

विभागको नीति तथा कार्यक्रमअनुसार माघसम्ममा तयारी सक्नुपर्ने हुन्छ। जेठसम्म सरसफाइ गर्ने कार्यक्रम छ। यसका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। आरोहीका अनुसार माथिल्ला भागबाट फोहोर तल झार्न गाह्रो छ। आरोहीलाई नै सफाइको जिम्मा दिनुपर्ने माग उठ्दै आएको छ। सगरमाथा आधारशिविर, क्याम्प २ र क्याम्प ४ मा धेरै फोहोर थुप्रिएको सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले बताइन्। ‘आरोहीहरू आधारशिविरपछि सबैभन्दा बढी समय क्याम्प २ मा बस्छन्। आरोहीले त्यहाँ खाद्यान्न तथा बन्दोबस्तीका सामान थुपार्ने गर्छन्। त्यहाँ टेन्टका टुक्रा, बिग्रिएका अक्सिजनका सिलिन्डरजस्ता फोहोर धेरै छन्’, अध्यक्ष शेर्पाले भनिन्, ‘माथि ट्वाइलेट नहुने हुँदा धेरै फोहोर छ।’

आमादब्लम, कञ्चलजंघा, मनासलु, मकालुमा पनि अत्यधिक फोहोर रहेको उनले बताइन्। ‘हिमालका उच्च भेगमा रहेको फोहोर ल्याउन आरोहीलाई नै प्रयोग गर्नुपर्छ’, उनले भनिन्, ‘आरोहीलाई प्रतिकिलोका हिसाबले रकम दिने हो भने सहजै सफाइ गर्न सकिन्छ।’ यसो गर्दा थोरै खर्चमा धेरै फोहोर संकलन गर्न सकिने उनले बताइन्।

सगरमाथा सफाइ अभियान २०७६ अन्तर्गत वैशाखमा सगरमाथाबाट ११ हजार किलो फोहोर संकलन गरिएको थियो। आधारशिविर, क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ हुँदै साउथनकोलसम्मको फोहोर संकलन गरिएको हो। सड्ने फोहोर स्थानीय रूपमा व्यवस्थापन गरिएको थियो। नसड्ने फोहोर र शव काठमाडौं ल्याईएको थियो।

Loading...