बबरमहलको प्रबलीकरण सुरु

काठमाडौँ, ४ मङ्सिर । भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण सुरु भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो । भवनमा रहेका कार्यालयहरूको सामान स्थानान्तरण गर्ने स्थान अभावमा काम ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।

अहिले भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई स्थानान्तरण गरिएको छ । प्रबलीकरण दुई वर्षमा सक्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताए । बबरमहल प्रबलीकरणको ठेक्का जिसी–आशिष–समानान्तर जेभीलाई दिइएको छ । निर्माण कम्पनीले ८६ करोड दुई लाख ५२ हजार रुपियाँको लागतमा प्रबलीकरण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

भूकम्पअघि बबरमहलमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थियो । हाल यी कार्यालयहरू अन्यत्र सरेका छन् । बबरमहलको प्रबलीकरणमा परम्परागत निर्माण सामग्रीहरू चुना, सुर्की, काठलगायत वस्तुको प्रयोग गरिने उपनिर्देशक विश्वकर्माले बताए ।

भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायहरूलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने उनले बताए । अहिले भएको बबरमहलको तीन तले भवन चन्द्र शमशेरले आफ्ना छोरा बबरशमशेरका लागि बनाएको इतिहासकारहरू बताउँछन् ।

इतिहासकार पुरुषोत्तम शमशेर जबराका अनुसार, बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । वि सं १९३३ फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए । वि सं १९४२ मा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तानहरू लाखापाखा लागे । त्यसपछि यो दरबार देव शमशेरको स्वामित्वमा पुगेको जबराले आफ्नो पुस्तकमा उल्लेख गरेका छन ।

वि सं १९५८ मा देव शमशेर पनि पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्र शमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार वि सं १९६६/६७ तिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोर राणाहरूबाट महल तयार गराई चन्द्र शमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा लेखिएको छ ।

Loading...