मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख

रातभरि हिडाइयाे तर एसपीलार्इ भेटाइएन

बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट पार्टीले थवाङबाटै नियन्त्रणमा लिएकाे थियाे । नेकपाकाे नियन्त्रणमा दुर्इ दिन बसेर पत्रकारकाे राेहबरमा मुक्त गरिएका उनै घर्तीसँग गरिएकाे छाेटाे कुराकानीकाे अंश :

तपाईं कसरी अपहरणमा पर्नुभयो ?

थवाङमै मेरो ससुराली छ । त्यो दिन गाउँ सभा गर्ने योजनाको छलफल सकेपछि ससुरालीमा गएर बस्ने कुरा भयो । परिवारसहित नजिकैको ससुरालीमा गयौँ । राती खाना खाएर सुत्ने तयारीमा थियौँ । बाहिर निस्कन लागेको थिएँ । घर सबै घेराबन्दि गरिसकेको रहेछ । एक जनाले मलाई सोध्नु भयो ‘तपाईं अध्यक्ष हो ?’ मैले भने,‘हो म अध्यक्ष हो ।’

तपाईंसँग सोधपुछ गर्नु छ भन्नु भयो । मैले सोँचे अब ठीक भएन । त्यसपछि म भित्र छिर्न लागेँ । तर, पछि पछि साथीहरु आउनु भयो । मैले किन ? भनेर प्रश्न गरेँ । उहाँहरुले तपाईलाई छलफलको लागि बोलाइएको छ हिड्नुस् भन्नु भयो ।’ म किन जाने राती राती भन्दै मैले प्रश्न गरेँ । ‘एसपीले बोलाएको छ । तपाईं जानै पर्छ भनेर बल प्रयोग गरियो । जबरजस्ति जुत्ता लगाइयो र हिँडाइयो । रातभरी जंगलको बाटोमा हिडाइयो । पानी परेको थियो । जुका उस्तै थियो । एक रात एक दिन जंगलमा पानी समेत खान नदिइ हिँडाइयो । जलजलाको लेकको जंगल छ त्यो ठाउँमा राती हराइयो पनि । राती एक बजेबाट हिडाएर अर्को दिन बेलुका साँडे सात बजेसम्म जंगलमा एउटा गोठ भेटेपछि बसियो ।

केही यातना पनि दिएकी ?

मलाई त्यस्तो यातना दिएन । यात्रा निकै कठिन भयो । यात्राभरी खाली पेट एक रात एक दिनभर हिँडाइयो ।

उनीहरु हतियार सहित आएका थिए ?

राती उनीहरु २५÷३० जनाको संख्यामा थिए । कोही महिला पनि थिए । मेरो अगाडी चिनिने गरी कोही आएनन् । उहाँहरु हतियार सहित हुनुहुन्न थियो । निशस्त्र नै आउनु भएको थियो । हाम्रो एसपीसँग छलफल गर्नु पर्छ भन्नु भएको थियो । एसपी भनेको सन्तोष बुढा मगर आएको छ भनिएको थियो । उहाँले नै बोलाउनु भएको छ भनिएको थियो । मैले उहाँसँग भेट हुन्छ त भनेर सोधेको थिएँ । ‘हो उहाँले नै बोलाउनु भएको छ भनिएको थियो । तर पछि उहाँ भेटिएन । लगातार झूट मात्रै बोल्ने काम भयो ।

उनीहरुले आफ्नो बारेमा के भनेका थिए ?

हामी नेपाल कम्युनिस्ट पार्टीबाट भनेका थिए । हाम्रो जनसत्ताले तपाईंलाई बोलाएको छ । हाम्रो एसपीले बोलाउनु भएको छ भन्ने कुरा भयो । हिजो फर्कदै गर्दा सुवास जिसँग भेट्ने कुरा भएको थियो । तर, उहाँलाई बाटोमै प्रहरीले समातेको रहेछ त्यो कारणले भेट भएन । ब्युरोको सितल भन्नेसँग फोनमा कुरा भयो । फोनमा उहाँले भन्नु भयो, ‘तपाईलाई स्थानिय जनसत्ताले छलफलका लागि बोलाएको हो । अन्यथा नलिइदिनु होला । तपाईंलाई सकुशल नै छोड्ने भन्ने हाम्रो योजना हो । आज तपाईंलाई हामी छोड्दै छौँ । अहिले सिंहदरबारको अधिकार गाउँसम्म भनियो । हामी यो मान्दैनौँ । सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुग्यो । त्यो भ्रष्टाचार न्युनिकरणका लागि हाम्रो यो अभियान हो । अहिले हामी राजिनामा गराउने अवस्थामा छैनौँ । केही समयपछि हाम्रो आन्दोलन एउटा अवस्थामा जाँदै गर्दा तपाईंले राजिनामा दिनुपर्ने हुनसक्छ ।’

अर्को कुरा पनि भन्नु भयो । करको दायरा निर्धारण गर्दा हाम्रो जनसरकार छ । जनसरकारलाई सोधपुछ नगरी केही गर्न पाउँदनुहुन्न । त्यहाँको ढुङ्गा रोडा खरिद गर्दा आफ्नो मनखुसी पाउनु हुन्न । हाम्रो जनसत्तासँग नसोधी गतिविधि गर्न पाउँनु हुन्न भयो । हाम्रो सुवास जि पक्राउ पर्नु भएको छ । यदि उहाँमाथि केही भने तपाईं जिम्मेवार हुनुपर्छ भन्ने कुरा भयो ।

प्रहरीमा केही उजुरी दिनुभएको छ ?

मैले उजुरी दिएको छैन । हिजो मात्रै मलाई पत्रकारहरु माझ जिम्मा लगाइयो । हिजो बुलुका मात्रै सिडिओ डिएसपीसँग भेट भयो । म अहिले जिल्ला सदरमुकाम लिवाङमा छु । जिल्ला प्रहरी कार्यालयमा छलफलको लागि बोलाइएको छ । त्यस्तो केही भएको छैन ।

परिवारसँग कहिले सम्पर्क भयो ?

रातभर पानी र जुका घारीमा हिँडेर होला अहिले स्वास्थ्य विग्रेको छ । आज विहान मात्रै परिवारले म बाहिर आएको थाहा पाएपछि फोनमा कुरा भयो । परिवारमा चिन्ता नहुने कुरा भएन । घर जान पाएको छैन । आज जान्छु होला ।

Loading...