झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ छैन ।
सर्लाहीको हरिवनमा निक़ै ठूलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफ़ोनहरू । तस्बिर लिन चाहनेहरूमा पुरुषभन्दा महिलाहरू बढ़ी रहर गरिरहेका थिए ।
‘ओ दाईं छेक्कियो के, अली छेउ सरीदिनु न’ प्रचण्डको छेउमा उभिएका सुरक्षाकर्मीसँग एक जना महिलाले अनुरोध गरिन । सुरक्षाकर्मी पर सरे पनि, तर ती महिलाले फ़ोन तेर्स्याउन नपाउँदै अर्कों महिला भिड़लाई पेलेर अगाडि पुगिन ।
पहाड़ी, मधेशी, मुस्लिम र जनजाति समुदायको मिश्रित बसोबास भएको हरिवनमा प्रचण्डलाई हेर्न र भाषण सुन्न बिहान ८ बजेदेखि नै जनता झुम्मिएका थिए । प्रचण्ड ९ बजे यहाँ आइ पुगे तर ठूलो पानी परेकोले तत्काल कार्यक्रम सुरु हुन सकेन । नेता डाचाराज वाग्ले, मेयरका उम्मेदवार कमल बुढ़ाथोकी लगायतले प्रचण्डलाई छेउकै सामुदायिक अस्पतालको कार्यालयमा एक छिन ओत लाग्न लगेर गए ।
पानी रोकिने छाँट नभएपछि प्रचण्डले जनतालाई सम्बोधन सुरु गरे र सुरु भयो तस्बिर र भिडियोको शृङ्खला ।
मधेशको हरिवनको दृश्य सबै ठाउँमा उस्तै देखिन्छ । भाषण भन्दा पनि फ़ोटो र भिडियो खिच्ने रहर बढी । धनुषाका केही ठाउँमा स्मार्टफ़ोन नहुनेहरूले पुरानो एक इन्च डिस्प्ले भएको मोबाइलबाट समेत फ़ोटो र भिडियो रेकर्ड गरेको देखियो ।
‘फ़ोटो खिंचिदिनु त दाई’ धनुषाको सलेवामा खाना खाने बेला प्रचण्डसँग सेल्फ़ी खिच्ने अवसर पाएका एक तन्नेरीले मलाई मोबाइल समात्न दिए । स्मार्टफ़ोनका पारखी हाम्रा लागि यो हाँसोलाग़्दो विषय थियो । तर उनका लागि भने त्यो सय पिक्सेल पनि नभएको तस्बीर ऐतिहासिक थियो ।
मधेशका गाउँवस्तीमा प्रचण्डलाई हेर्न मात्र सभामा ओइरिनेहरू देखिए । धनुषाको यदुकुहामा ७०, ८० वर्षका बृद्दहरू प्रचण्ड हेर्न मात्रै आएका थिए ।