सुर्खेत, २७ भदाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे बताए । उनले प्रचण्डसँग कुनै हालतमा पनि एकता नहुने बरु विप्लवसँग भने एकता हुनसक्ने बताए ।
केहीदिनदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा आउन अपिल समेत गरेका थिए । तर नेता वैद्यले भने त्यसलार्इ ठाडै अस्वीकार गर्दै एकताबारे नयाँ सम्भावनालार्इ अगाडि सारेका हुन् । मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माओवादी केन्द्रसँग कुनै हालतमा एकता र सहकार्य हुन सक्दैन । किनकी माअाेवादी केन्द्र पूरै प्रतिगमनतिर गरहेको छ ।
बरु नेत्रविक्रम चन्द ‘विप्लव’सँग एकताको सम्भावना बढिरहेको दाबी वैद्यले गरे । आफूहरु क्रान्तिकारी पार्टीसँग मात्रै एकता गर्ने पक्षमा रहेको उनले स्पष्ट पारे ।
देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेको भन्दै वैद्यले त्यसका लागि सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । दश वर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने उनको धारणा छ ।
आगामी चुनावमा भाग लिने कि नलिने भन्ने प्रश्नमा वैद्यले आगामी असोज २१ गतेदेखि पोखरामा हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट निर्णय लिने जानकारी दिए ।