मोहन बैद्यका भाई विप्लवको साथमा

काठमाडौं, २५ भदौ । कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् ।

वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा वैद्यलाई परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेपालमा राजनीतिक समस्याहरु निकै जटिल बनेको भन्दै त्यसलाई समाधान गर्नका लागि क्रान्तिकारी पार्टी जरुरी रहेको बताए । क्रान्तिकारी पार्टी र साहसिक नेता विना अब नेपालमा राजनीतिक परिवर्तन सम्भव नभएको पनि उनले सो क्रममा बताए । मोहन वैद्य किरण क्रान्तिकारी नेता भएको तर उनलाई सो पार्टीका अरु नेताहरुले फसाएको उनले टिप्पणी गरे । मोहन वैद्यको योगदानलाई सम्मान गर्नुपर्ने बताउदै उनले उनले पनि क्रान्तिकारी आन्दोलनमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।
सो क्रममा प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) परित्याग गरी एक दर्जन केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । नेपालको राजनीतिलाई सम्हाल्न तथा राजनीतिक आन्दोलनलाई पूर्णता दिनका लागि विप्लवको नेतृत्वमा नेकपाले मात्र सक्ने घोषणा गर्दै उनीहरुले पार्टी प्रवेश गरेको जनाएका छन् । साथै उनीहरुले प्रचण्डले स्पष्ट रुपमा संसदीय प्रजातन्त्रको बाटो समातिसकेकाले उनी विगतमा आफैले स्थापित गरेका मुल्य मान्यता र सिद्धान्तबाट विचलित भएको बताएका छन् । त्यस दिशाबाट केही सीमित मान्छेहरुको मात्र स्वार्थ पूरा हुने तर आम जनता र देश सधै अनिश्चय, अराजकता र अस्थिरताको बाटोमा रुमल्लिरहने खतरा रहेको भन्दै त्यसलाई रोक्न आफूहरु अब क्रान्तिकारी पार्टीमा समाहित भएको प्रतिक्रिया दिएका छन् ।

यसरी प्रचण्डलाई परित्याग गरी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी, जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर तथा केन्द्रीय सदस्य जोखिम, केन्द्रीय सदस्य कृष्णबहादुर बिक, बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्तिका केन्द्रीय सदस्य बाबुलाल पासवान लगायत छन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले उनीहरुलाई ढाकाको खादा र रातो टिका लगाएर स्वागत गरेका थिए ।

Loading...