अब रक्सी खान पनि लाइसेन्स लिनुपर्ने, सरकारले ल्यायो यस्तो कडा नीति

जुम्ला, २३ भदौ । कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले गर्न लागेको बताए।

‘कर्णालीमा अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै कारण हिंसा बढेकाले सरकारले यस्तो नीति ल्याउन लागेको हो। उनले रक्सी खान पूर्णतया निषेध नै गर्न नसकिने भन्दै नियमनका लागि रक्सी बेच्ने र खानेलाई लाइसेन्सको अनिवार्य व्यवस्था गर्न लागेको बताए। जुम्लामा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा छाडा तवरबाट जथाभावी रक्सीको बिक्री वितरण तथा सेवन न्यूनीकरणका लागि लाइसेन्स दिने व्यवस्था अपरिहार्य भएको तर्क गरे।

प्रदेश सरकारले यसबारे कानुन नै बनाउने उनको भनाइ छ। होटेलमा रक्सी र लागुऔषध सेवन गर्ने काम बढेको उल्लेख गर्दै होटलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीनपुस्ते विवरण र फोन नम्बरका अनिवार्य राख्नुपर्ने, मादक पदार्थ बिक्री गर्नका लागि निश्चित स्थान र खानका लागि निश्चित समय तोक्ने जस्ता व्यवस्था कानुनमै उल्लेख गरिने पनि उनले बताए।

Loading...