जाजरकोट, २२ साउन । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ ।
नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि लागू हुने गरी कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय गरिएको छ ।
त्यसैगरी मङ्सिर १ देखि फागुन ३० गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म सेवन गर्न पाइने निर्णय भएको छ । त्यस्तै चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने उल्लेख छ । छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गर्दै नलगाड नगरपालिकाले मदिरा निषेध गर्ने अभियान थालेको हो । नगरपालिकाको यो निर्णयमा कस्तो खालको मदिरा सेवन गर्न पाइने भन्ने कुरा खुलाइएको छैन ।
नगरपालिकाले १३ ठाउँमा नमूना बस्ती निर्माण गरी त्यहाँ साँचिक्कै कामको नमूना हुनुपर्ने अवधारणा लागू गरी बजेटसमेत व्यवस्था गरेको छ । नमूना गाउँमा स्वागतद्वार, सरसफाइ, खानेपानी, खोपयुक्त हुनुपर्ने लगायतको मापदण्ड बनाएर काम भइरहेको छ । यो भन्दा अगाडि नलगाड नदी र भेरी नदीमा माछा मार्न प्रतिबन्ध लगाएको नगरपालिकाले अहिले मदिरा सेवन गर्न समय तोकेको हो । नगरपालिकाले सेवन नगर्न उर्दी जारी गरे पनि आम नागरिकको पहुँचमा सूचना प्रवाह नहुँदा कार्यान्वयनमा समस्या हुने देखिएको छ ।
स्थानीय सरकारले सञ्चारमाध्यममा सूचना प्रसारण र प्रकाशन नगर्ने तर फेसबुकमा मात्र चिठ्ठी प्रकाशित गर्दा आम नागरिकसम्म जानकारी कम हुने गरेको स्थानीय पत्रकार बद्री पन्तले बताए । मदिरा निधेष गरे पनि स्थानीय सरकारका प्रतिनिधि आफै मदिरा सेवन गरेको समेत फेला परेको स्थानीयवासीको गुनासो छ । सबै ठाउँमा प्रहरीको उपस्थिति नहुने र जनप्रतिनिधिले निर्णय कार्यान्वयनमा लापरवाही गर्दा निर्णय कार्यान्वयनमा समस्या भएको छ ।