चीनले रेलमार्गबारे महरासंग यसो भन्यो

काठमाडौँ । चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार थप प्रक्रिया अगाडि बढाउने भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो ।

 

परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमबारे आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाई र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

भेटमा प्रधानमन्त्री खछ्याङलाई उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सी चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएको उपप्रधानमन्त्रीका सञ्चार तथा जनसम्पर्क संयोजक हरि लामिछानेले बेइजिङबाट बताए ।

 

यस्तै, उपप्रधानमन्त्री महरामार्फत चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री खछ्याङले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको आन्तरिक राजनीतिक स्थिति राम्रोसँग अगाडि बढेकामा खुसी व्यक्त गर्नुका साथै नेपाली जनताको समृद्धिको चाहना पूरा हुने अपेक्षा व्यक्त गरेका थिए ।

मन्त्री महराले तातोपानी र केरुङ नाका खुलाउन आग्रह गर्दा चीनले सकारात्मक प्रतिक्रिया दिएको छ ।
यसैबीच उपप्रधान एवम् परराष्ट्र मन्त्री महरा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच पनि दुई देशलाई जोड्ने रेलमार्ग निर्माणबारे छलफल भएको छ । छ दिने चीन भ्रमणमा रहेका महराले बेइजिङमा दुई पक्षीय वर्ताको क्रममा नेपाल र चीनबीच अन्तरदेशीय रेल सञ्जाल निर्माणबारे छलफल भएको हो ।

बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलको क्रममा महराले नेपालका राजनीतिक दल चीनसँग रेलमार्गबाट जोडिने विषयलाई राष्ट्रिय प्राथमिकता दिएर अगाडि बढ्न तयार रहेको बताउनुभएको महराका प्रेस संयोजक लामिछानेले जानकारी दिए। उनका अनुसार यस विषयलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको छ ।

 

चीनले हालै अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग सुरु गरेको रसुवागढी–केरुङ नाकाबाट नेपाललाई रेल मार्गबाट जोड्न सकिने बताउँदै आएको छ । अहिले यो नाकाबाट करिब पाँच सय किलोमिटर टाढा सिगात्सेसम्म चिनियाँ रेल सञ्चालमा छ ।

 

दुवै देश अन्तरदेशीय रेल सम्पर्क निर्माण गर्न सकारात्मक भए पनि अहिलेसम्म यसको औपचारिक प्रक्रिया सुरु हुन सकेको छैन । महरा र चिनियाँ परराष्ट्र मन्त्रीबीच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल्वेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको बताइएको छ । दुई देशबीच चीनले अगाडि बढाएको ‘वन बेल्ट वन रोड’ अवधारणा कार्यन्वयनका लागि नेपालमा भौतिक पूर्वाधारका साथै व्यापार, पर्यटन र लगानीलगायतको विषयमा पनि छलफल भएको थियो ।

 

दुई देशबीच उच्च स्तरको भ्रमण आदान प्रदानबारे पनि छलफल भएको बताइएको छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई छिट्टै टुङ्ग्याउने सहमति पनि भएको छ । दुई देशका विदेशमन्त्रीबीच सीमा नाकाको स्तरोन्नति र नयाँ नाका खोल्ने सहमति पनि भएको छ ।
यस्तै उपप्रधानमन्त्री महरा र चीनका स्टेट काउन्सिलर याङ जेचीबीच बिहीबार भेटवार्ता भई आपसी हित र चासोका विषयमा छलफल भयो । सो अवसरमा एक क्षेत्र एक मार्ग (ओबोर) बाट नेपालले सहयोग लिनसक्नेमा जेचीले जोड दिए भने उपप्रधानमन्त्री महरा त्यसमा सहमत भएका थिए ।

Loading...