दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् ।
खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने बुढाथोकीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बिगु गाउँपालिकाअन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको सिलसिलामा पुगेका ढुङ्गेललाई बुढाथोकीले एक्कासि पछाडिबाट खुकुरी प्रहार गरेका थिए । ढुङ्गेललाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बुढाथोकीलाई सिङ्गटीबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेललाई अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको थियो ।
सदरमुकाम चरिकोटका अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।