काठमाडौ, २२ भदौ । नेपाली समाजमा पहिले खासै नसुनिने एसिड प्रहारका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । खासगरी आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा ‘अपमानित’ भएको झैं ठान्ने पुरुष मनोविज्ञानले डरलाग्दो नतिजा निम्त्याइरहेको छ, भलै एकाध घटना पुरुषलक्षित रहेको पनि देखिन्छ ।
आर्थिक वर्ष २०७१/७२ यताका पाँच वर्षका घटना हेर्ने हो भने एसिड प्रहारबाट १३ महिला र तीन पुरुष पीडित भएका देखिन्छन् । यो तथ्यांकले एसिड प्रहारका घटनाबाट मुख्यतः महिलाहरू कसरी पीडित भइरहेका छन् र जीवनभर कसैको आपराधिक हर्कतको मूल्य चुकाउन बाध्य बनिरहेका छन् भन्ने देखाउँछ । एसिड प्रहारका अधिकांश घटनाको अन्तर्यमा तथाकथित बदला र प्रतिशोधको भाव देखिन्छ भने त्यस्तो जघन्य अपराध गर्नका निम्ति उद्यत हुनेहरूमा किशोर र तन्नेरीहरूको संख्या उल्लेख्य देखिन्छ ।
कसैले कसैको प्रेम प्रस्ताव वा दबाब अस्वीकार गर्नु सम्बन्धित व्यक्तिको स्वतन्त्रताको विषय हो भन्ने तथ्य बुझाउन नसक्दाको परिणाम एसिड प्रहार हो भनेर मात्रै अर्थ्याएर पुग्ने देखिन्न । सामाजिक रूपमा आफूलाई बलशाली र प्रभुत्वशाली ठान्ने पुरुषहरू सामाजिक रूपमा कमजोर देखिएका महिलाहरूमाथि एसिड छ्याप्न किन उद्यत देखिएका हुन् ? के अहंकारको तुष्टि लिन वा बदला साध्न मात्र यस्तो जघन्य अपराध भइरहेको छ रु वा यसका पछाडि कुन मनोविज्ञानले काम गर्दैछ ? यस्ता प्रश्नको उत्तर नखोजेसम्म यी घटनाहरूमा कमी आउने देखिँदैन ।
मूलतः सामाजिक अधिकार र आर्थिक पहुँचका दृष्टिले कमजोर भएकाले महिलाहरूमाथि हिंसा हुने गरेको देखिन्छ । एसिड प्रहारको घटना पनि यही महिलाविरुद्धको हिंसाको एउटा शृंखला मात्रै होइन, यस्ता घटनाहरू नेपाली समाजमा महिला स्वतन्त्रताको अवस्था र सशक्तीकरणको सूचक कुन अवस्थामा छ भनेर बुझाउने आँखीझ्यालहरू पनि हुन् ।
१९६० को दशकबाट दक्षिण एसियाका भारत र बंगलादेशमा एसिड प्रहारका घटनाहरू उल्लेख्य रूपमा बढ्न थालेको देखिन्छ । नेपालमा भने यो रोग सल्किसकेको थिएन । पछिल्ला वर्षहरूमा यहाँ पनि एसिड आक्रमणका घटनामा बढोत्तरी देखिएको छ । नेपाली समाजमायो महिलाविरुद्ध हुने हिंसाको नयाँ हतियारका रूपमा प्रयोग भएको समेत देखिन्छ ।
एसिड प्रहारको पछिल्लो घटनाबाट मुस्कान खातुन पीडित हुनुपर्यो । उनको ‘गल्ती’ भनेको कसैले प्रेम गर्नका लागि दिएको दबाब अस्वीकार गर्नु मात्र थियो । अपराधका अन्य घटनाहरूको आयु क्षतिका हिसाबले अल्पायुको हुने अथवा समयक्रममा पीडा कम हुँदै जाने किसिमको हुन्छ, तर एसिड प्रहारको पीडा पीडितहरूले जीवनपर्यन्त खप्नुपर्ने देखिन्छ ।
यस्तो पीडा त्यतिबेला झनै दोब्बर हुन्छ, जतिबेला पीडकलाई समयमै कानुनी सजाय दिइन्न र कानुनी उपचार तथा क्षतिपूर्तिका निम्ति पीडित लामो पर्खाइमा बस्नुपर्ने हुन्छ । त्यति गर्दा पनि न्याय पाउने सुनिश्चितता हुन्न । त्यसबीचमा एसिड पीडितहरूले सामाजिक रूपमा सामना गर्नुपर्ने अनेकन दुर्व्यवहार र त्यसबाट हुने चित्त दुखाइको त कुनै हिसाबकिताब नै छैन ।
त्यसो त पछिल्लो कानुनी प्रावधानले एसिड प्रहारका घटनालाई अलग्गै रूपमा व्याख्या गर्ने कोसिसचाहिँ भएको देखिन्छ । मुलुकी अपराध संहिताको परिच्छेद १४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुरले एसिड प्रहारका घटनालाई अलग्गै रूपमा व्याख्या गरेको छ ।
संहितामा तेजाब वा अन्य रसायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको खण्डमा कसुरको प्रकृति हेरी पाँचदेखि आठ वर्षसम्म कैद, अनुहार कुरूप पारेमा एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । एसिड प्रहारका पीडितहरूले जीवनभर अनेकन स्वास्थ्यजन्य, सामाजिक र मानसिक पीडा खेप्नुपर्ने देखिन्छ ।
त्यस्तो पीडाजन्य कसुरका निम्ति अपराध संहिताले व्यवस्था गरेको सजाय कम भएको फौजदारी कानुनका विज्ञहरूको बुझाइ छ । विद्यमान कानुनले पीडितलाई थोरै मात्र आर्थिक क्षतिपूर्तिको व्यवस्था गरेको छ भने सामाजिक रूपमा कमजोर पीडितहरूमाथि पीडकहरू थुनामुक्त भएपछि गर्ने दुर्व्यवहारको भय पनि उत्तिकै देखिन्छ । यसका निम्ति बलियो कानुनीसंयन्त्रका अतिरिक्त पीडितलाई संरक्षण गर्ने बलियो प्रणालीको पनि खाँचो देखिन्छ ।
एसिडजस्तो घातक रसायनको खुला बिक्री र फितलो अनुगमन पनि यस्ता घटनाहरूको बढोत्तरीमा जिम्मेवार देखिन्छ । अधिकांश एसिड प्रहारका घटनामा पीडकहरूले रसायनिक पदार्थ बिक्री गर्ने पसल, ब्याट्री मर्मत वा सुन–चाँदी पसल आदिबाट सजिलै एसिड खरिद गर्ने गरेको देखिन्छ ।
घातक रसायन एसिडको सुलभ बिक्री, कमजोर नियमनले पनि प्रतिशोध साध्नेका निम्ति एसिड सजिलो माध्यम बनिरहेको छ । बलियो कानुन बनाएर घातक रसायनहरूको बिक्री वितरणमा कडाइ गर्न र बलियो नियमनको व्यवस्था गर्न सकेको खण्डमा पनि यस्ता घटनाहरूको बढोत्तरीमा कमी आउन सक्ने देखिन्छ ।