युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

न्यूयोर्क, २२ भदौ । क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् ।

बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् ।

खेलमा पराजित भएपछि बोल्दै सेरेनाले म रेकर्ड बनाउनकै लागि खेलिरहेकी छैन भने । उनले भने आजको खेलमा मैले राम्रो खेल्न सकिनँ । मैले अझ राम्रो खेल्न सक्थें । विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताए ।