यी आठ शिक्षक भए यस वर्षका उत्कृष्ट शिक्षक

काठमाडौं । पी.पी. प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गरेको छ । प्रतिष्ठानले मुलुकभरका सामुदायिक विद्यालयका आठ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरेको हो ।

यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै चितवन पदमपुरको भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका छन् ।

यसैगरि हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०७६’ यो वर्ष प्रदेश नं।१ बाट बाल सुवोधेनी आधारभूत विद्यालय मेचीनगर झापाका शिक्षक विश्व थापा र प्रदेश नं। २ बाट देउराली माध्यमिक विद्यालय महोत्तरीका शिक्षक केदार बहादुर रायमाझीलाई प्रदान गरिएको छ ।

यसैगरी प्रदेश नं। ३ बाट ज्ञानोदय मावि बाफलका शिक्षक अन्जु लामा, प्रदेश नं। ४ बाट अमरसिंह माध्यमिक विद्यालय र केफ मावि कास्कीका शिक्षक केशव प्रसाद पराजुली पुरस्कृत भएका छन् ।

प्रदेश नं. ५ बाट सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीका प्रअ डोर विक्रम श्रीस ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०७६’ बाट पुरस्कृत भएका हुन् ।

यसैगरी, प्रदेश नं। ६ बाट हिमज्योति आधारभूत विद्यालय डोल्पाका शिक्षक तुल बहादुर विष्ट र प्रदेश नं। ७ बाट महेन्द्रनगर नमुना माध्यमिक विद्यालयका शिक्षक ललित सिंह साउदलाई पुरस्कृत गरिएको हो ।

मुलुककै उत्कृष्ट शिक्षक घोषित डा। कँडेलले एकलाख र प्रदेशका उत्कृष्ट शिक्षकहरुले प्रमाणपत्र सहित ५० हजार नगदसहित पुरस्कृत भएका हुन् । साथै, पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको थियो । उनीहरु सबैलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पर्यटन व्यवसायी रविन्द्रराज पाण्डेलाई पी.पी. प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१९ द्वारा सम्मानित गरिएको थियो ।

देशभरबाट आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा लागेका संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरेको प्रतिष्ठानका अध्यक्ष शिखर प्रसाईले जानकारी दिए ।

जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रहोत्साहन गर्न यो पुरस्कार स्थापना गरिएको प्रसाईले जानकारी दिए । यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउदै लैजाने पीपी प्रसाई फाउण्डेसनको योजना रहेको उनले स्पष्ट पारे ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी.पी. प्रसाई फाउण्डेसनको गठन गरिएको थियो । प्रसाईंको आजकै दिन वि.सं. २०५६ भदौ २० (५ सेप्टेम्वर १९९९) मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।

Loading...