देशकै सर्वोत्त्कृष्ट शिक्षक भएर भिमोदयका प्रअले पाए लाख राशीको पुरस्कार

काठमाडौँ, १९ भदौ । चितवनको पदमपुर स्थित भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल मुलुकभरका उत्कृष्ट शिक्षक बनेका छन् । पी.पी. प्रसाई प्रतिष्ठानले मुलुकभरबाट उनलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो ।

यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै डा. कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि एक लाख रहेको छ । फाउन्डेशनले आयोजना गरिएकाे कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार, २०७६’ डा कँडेललाई प्रदान गरे । 

२०३२ सालमा जन्मिएका कँडेल २० वर्षदेखि अध्यापन पेशामा रहेका छन् । उनकै नेतृत्वमा भीमोदय माविले छोटै समयमा शैक्षिक र भौतिक क्षेत्रमा आमूल परिवर्तन गर्न सफल भएको थियो । भारतको सिंहानिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. कँडेलले विद्यालयमा सूचनाप्रविधियुक्त शिक्षण सिकाइ र बालमैत्री वातावरण निर्माणमा उल्लेखनीय काम गरेका छन् । उनको यसै योगदानको कदर गर्दै प्रतिष्ठानले एक लाख नगद सहित उनलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरेको हो ।

‘पिपी प्रसाईं टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१९’ बाट पर्यटन व्यवसायी रवीन्द्रराज पाण्डेलाई पुरस्कृत गरियो ।

यसैगरी ‘उत्कृष्ट शिक्षक पुरस्कार–२०७६’ प्रदेश नं १ बाट श्री बाल सुबोधेनी आधारभूत विद्यालय मेचीनगर झापाका शिक्षक विश्व थापा, प्रदेश नं २ बाट श्री देउराली माध्यमिक विद्यालय महोत्तरीका शिक्षक केदारबहादुर कोइराला र प्रदेश नं ३ बाट ज्ञानोदय मावि बाफल कालीमाटीका शिक्षिका अन्जु लामालाई प्रदान गरियो ।

यस्तै गण्डकी प्रदेशबाट अमरसिंह माध्यमिक विद्यालय र केफ मावि कास्कीका शिक्षक केशवप्रसाद पराजुली, प्रदेश नं ५ बाट श्री सिद्धबाबा माध्यमिक विद्यालय गुल्मीका शिक्षक डोरविक्रम श्रीस, कर्णाली प्रदेशबाट श्री हिमज्योति आधारभूत विद्यालय डोल्पाका शिक्षक तुुलबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशबाट श्री महेन्द्रनगर नमूना माध्यमिक विद्यालय कञ्चनपुरका शिक्षक ललितसिंह साउदलाई प्रदान गरियो । यो पुरस्कारको राशि जनही रु ५०÷५० हजार रहेको छ । विजयी शिक्षकले अध्ययन गराउने सबै विद्यालयलाई रु १०÷१० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै सरकारले २०७५–०८५ लाई सामुदायिक विद्यालय सवलीकरण दशक घोषणा गरेर विद्यालय क्षेत्र सुधारको प्रयत्न अगाडि बढाएको बताए । सबैको सामूहिक प्रयत्नबाट मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने प्रष्टयाउँदै उनले गुणस्तर सुधारमा शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको सहयोगको खाँचो औँल्याए ।

सम्मानित शिक्षक डा कँडेलले आफूलाई गरिएको सम्मानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन थप प्रेरणा दिएको बताए । शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रतिको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायत आधारमा पुरस्कारका लागि सिफारिश गरिएको छनोट समितिका संयोजक धनन्जय शर्माले जानकारी दिए । पुरस्कारका लागि सार्वजनिक रुपमा आह्वान गरेर देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकसँग आवेदन माग गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शिखर प्रसाईंले विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकलाई उचित सम्मान र हौसला प्रदान गर्न तथा शिक्षण पेशामा आकर्षित गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको बताए ।

गतवर्षसम्म पाँच विकास क्षेत्रका आधारमा शिक्षकको छनोट गर्ने गरिएको भए पनि यसवर्षदेखि मुलुकको सङ्घीय संरचनाका आधारमा सातै प्रदेशबाट एक÷एक जना उत्कृष्ठ शिक्षक छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म ४५ शिक्षक र पाँच पर्यटन व्यवसायीलाई पुरस्कृत गर्दै आएको छ ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रुप दिन २०६७ साल फागुन ६ गते फाउन्डेशनको स्थापना गरिएको थियो । प्रसाईंको आजकै दिन विसं २०५६ भदौ १९ गते दहचोकमा भएको हवाई दुर्घटनामा परी निधन भएको थियो ।