तलवभक्ता नपाएपछि शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

धनुषा । चाडवाडको मुखमा तलव नपाएको भन्दै शिक्षकहरुले सबैला नगरपालिकामा तालाबन्दी गरिदिएका छन् ।

विगत पाँच महिनादेखि तलब नपाएका सबैला नगरका शिक्षकहरुले दशैँ, दिपावली तथा छठ जस्तो समयमा पनि तलब निकासा नगरेको भन्दै तलब निकासाका लागि तीन दिने अल्टिमेटमसहित नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसलाई पनि नगरप्रमुखले वेवास्ता गरेपछि शिक्षकहरुले बाध्य भएर तालाबन्दी गरेका हुन् ।

तर, नगरपालिकाले तलवभक्ता दिने सुरसार नगरेपछि शिक्षकहरुले नभएपछि तालाबन्दी गर्न बाध्य भएको शिक्षकहरुको भनाइ छ । यता नगरप्रमुख विजय शंकर साहले शिक्षकको तलब खुवाउन जरुरी भएपनि आफुले त्यो गर्न नसकेको स्वीकार गरे । उनले भने–‘तलब भत्ता कर्मचारीले निकासा गर्ने हो, कर्मचारीसँग हामी समन्वय गरिरहेका छौँ । प्रमुख प्रशासकीय अधिकृत अस्वस्थ भएर बिदामा बस्नु भएको छ । शिक्षकहरुको तलब लगभग बुधबारसम्म तलब निकासा हुन्छ ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता दिनेशकुमार रायले चाडवाडको समयमा शिक्षकहरुलाई तलवभक्ता नदिएपछि बाध्य भएर नगरपालिकामा तालाबन्दी गरिएको जानकारी दिए । ३ दिने समय दिएर ध्यानाकर्षण गराएपछि तलब दिन नगरपालिकाले चासो नदिएपछि तालाबन्दीमा उत्रनुपरेको उनको भनाइ छ ।

शिक्षकले तलवभक्ता नपाएसम्म तालाबन्दी जारी रहने शिक्षक रायले स्पष्ट पारे ।

Loading...