डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो ।

डेङ्गुका बिरामीको दमौली र पोखरामा उपचार भइरहेको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकाका व्यक्तिलाई डेङ्गुको सङ्क्रमण देखा परेको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत भट्टराईले टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनुजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य कार्यालयमा परीक्षणका लागि जान अनुरोध गरेका छन ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयमा आज बसेको बैठकले डेङ्गु रोगसम्बन्धी सचेतनाका लागि आइतबार सरोकारवालासहितको अभिमुखीकरण गर्ने निर्णय गरेको छ । जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए ।

तनहँुमा आर्थिक वर्ष ०७१÷७२ मा तीन, ०७४÷७५ मा एक र ०७५÷७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम शुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गुबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

१७ सदस्यका लागि ४४ जनाको उम्मेदवारी दर्ता

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समिति सदस्यका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्याम्पसको १० औँ साधारणसभा तथा ३३ औँ वार्षिकोत्सवको निर्वाचन कार्यक्रमअन्तर्गत आज सञ्चालक समिति सदस्यका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

खुल्ला, महिला, जनजाति, दलित, अल्पसङ्ख्यक, लेखा समिति, पुस्तकालय समितिलगायत गरी कूल १७ सदस्यका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन प्रबन्ध समितिले जनाएको छ । समितिका अध्यक्ष अमृत नेपालीका अनुसार खुल्लातर्फ आठ सदस्यका लागि २९, महिलातर्फ तीन सदस्यका लागि पाँच, जनजातितर्फ दुई सदस्यका लागि चार, दलिततर्फ एक सदस्यका लागि दुई, अल्पसङ्ख्यकतर्फ एक सदस्यका लागि दुई उम्मेदवारी दर्ता गराएका छन् । अभिभावकतर्फ दुई सदस्यका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । लेखा समितितर्फ तीन जना सदस्यका लागि पाँच र पुस्तकालय सल्लाहकारतर्फ तीन जना सदस्यका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन प्रबन्ध समितिका अध्यक्ष नेपालीका अनुसार भदौ २५ गते ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उक्त समयभित्र सर्वसम्मत हुन नसके भदौ २८ गते बिहान ८ देखि १ बजेसम्म निर्वाचन हुनेछ । समितिमा निर्वाचित १७ सदस्य र निवर्तमान अध्यक्षसहित १८ जनामध्येबाट अध्यक्ष र उपाध्यक्ष नियुक्त हुने प्रावधान रहेको छ ।

Loading...