कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ

बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ।

वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ । वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ।

उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो । वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ।
‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भने।

विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ । जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ।
यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ।

विगतमा लोड कम गराउन लमजुङका साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई गोरखा र तनहुँको खैरैनी, डुम्रे क्षेत्रमा पठाउने गरेकोमा हाल गोरखामा दरौदी आयोजनाको उत्पादन सुरु भएपछि लोड कम गराउन नसकिएको न्यौपानेले बताए।
दमौलीस्थित विद्युत् प्राधिकरणको सव–स्टेसनमा जडान गरिएको दुई सय एम्पिएर क्षमताको सिटी (करेन्ट ट्रान्सफर्मर) को क्षमता कम भएकाले लोड धान्न नसकेर लाइन जाने आउने भएको न्यौपाने बताउँछन्। उनका अनुसार सिटीको क्षमता बढाएर चार सय एम्पिएर बनाउन आवश्यक रहेको छ । प्रमुख न्यौपानेका अनुसार दमौलीमा बढी क्षमताको सिटी नराख्दासम्म साना आयोजनालाई कम विद्युत् उत्पादनका लागि अनुरोध गरिएको छ।

जिल्लामा उत्पादित सबै विद्युत् लैजानका लागि निर्माण थालिएको १३२ केभी क्षमताको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किट नबन्दा उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर नागरिकले सास्ती खेपेका छन् । समयमा डबल सर्किटको निर्माण कार्य नहुँदा जिल्लाका सबै जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन नपाएको प्रवद्र्धकहरूको भनाइ छ । अहिले सिङ्गल सर्किटबाट १२० मेगावाट मात्रै विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाइएको छ।

Loading...