सस्तोमा शेयर किन्ने अवसर

काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो।

हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप ७ कम्पनीका ३४ लाख ४८ हजार ७ सय ६३ कित्ता हकप्रद शेयर लिलामीमा आउन लागेका छन् । यी ७ कम्पनीमध्ये नेपाल बङ्गलादेश र सिद्धार्थ डेभलपमेण्ट बैङ्कले असार १४ गते बुधवारदेखि हकप्रद शेयरको लिलाम विक्री खुला गरेका छन्।

त्यस्तै, असार १५ गतेदेखि एकै दिन सिटिजन्स र सानीमा बैङ्कले अवितरित हकप्रद लिलामीमा ल्याउने भएका छन् । सिटिजन्सले संस्थापकतर्फको १ लाख ९९ हजार ३ सय १३ र सर्वसाधारणतर्फ ४ लाख २० हजार ४ सय ९० कित्ता लिलामीमा राख्ने भएको छ । सानिमाले भने सर्वसाधारणतर्फको २ लाख ११ हजार ४७ कित्ता अवितरित हकप्रद शेयर लिलाम गर्न लागेको हो।

असार २३ गतेसम्म आवेदन दिन सकिने गरस् लक्ष्मी बैङ्क र गरिमा विकास बैङ्कका शेयर पनि लिलामीमा आउँदै छन् । लक्ष्मी बैङ्कले ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सर्वसाधारण बेच्दै छ भने गरिमाले संस्थापक ९ हजार ८ सय ४७ र सर्वसाधारण ३ लाख ३६ हजार ७१ दशमलव ५४ शेयर लिलाममा विक्री गर्न लागेको हो । यसैगरी, तिनाउ डेभलपमेण्ट बैङ्कले असार २० देखि २७ गतेसम्म सर्वसाधारणतर्फको ३१ हजार ४ सय ९७ कित्ता अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएको छ।

कसरी लिलामीमा आउँछन् शेयर 

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार हकप्रद शेयर खुला अवधिमा सम्पूर्ण शेयर विक्री नभई बाँकी रहन गएमा त्यसरी बाँकी रहेको शेयरहरू निष्कासन तथा बिक्री प्रबन्धकमार्फत बोर्डलाई जानकारी गराई लिलाम बढाबढमा विक्री गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार हकप्रद जारी गर्दा आवेदन नपरेका शेयर कम्पनीले लिलामीमा ल्याउने गर्दछ।

यसरी लिलामीमा आएको शेयर बजार मूल्यभन्दा थोरै सस्तोमा किन्न पाइने हुँदा लगानीकर्ताहरूको यसमा आकर्षण बढेको पाइन्छ । यस्तो शेयरमा आवेदन हाल्दा सबैभन्दा पहिला उक्त शेयरको बजार मूल्यबारे जानकारी हुन जरुरी हुन्छ । बोलकबोलमार्फत लिलाम विक्री हुने हुँदा यी कम्पनीहरूको शेयरको न्यूनतम मूल्यप्रति शेयर अङ्कित मूल्य बराबर नै हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा बढी १० अङ्कले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिन्छ । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरूलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गर्ने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।

Loading...