तपाई छुट्नु त भएको छैनः राजधानीमै छन् यस्ता मनै लोभ्याउने झरनाहरु (फोटो फिचर)

  

काठमाडौं । लगातार वर्षा भइरहे पनि राजधानीमा गर्मी निकै बढेको छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन । यस्तो उखरमाउलो गर्मी छल्न राजधानीमै धेरै ठाउँहरु छन् । जसका बारेमा धेरैलाई जानकारी छैन । व्यस्त सहरी जीवनमा मानिसहरुलाई फुर्सद पाउन मुस्किल छ । तर, यदि यी केही ठाउँहरु थाहा पाएमा मानिसहरुलाई फुर्सद निकाल्न पुग्न सजिलो हुनेछ ।

बागमती नदी हेरेर राजधानीमा स्वच्छ पानीको कुरा गर्दा पनि पत्यार नमान्ने धेरैलाई राजधानी वरिपरि मनमोहक झरनाहरु छन् भन्दा विश्लासै नलाग्न सक्छ । तर, यो सत्य हो । राजधानी वरिपरि यस्ता थुप्रै झरनाहरु छन् । पछिल्लो समय क्यानोइङ कल्चर पनि बढेको छ । धेरै पर्यटकहरु झरनामा गएर डोरीमा झुन्डिएर खेल्ने गर्दछन् ।

यस्तै मध्येमा एक हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाकाको वार्ड नं ६ र ७ मा पर्ने मुहान पोखरी झरना । अर्को काठमाडौंकै टोखा नगरपालिकामा पर्ने झोरमा रहेको झरना । यी दुबै झरना यो गर्मी छल्ने प्रकृतिसँग रमाउने उत्कृष्ट गन्तव्य हुन सक्छन् । यी झरनाले विदाका दिनलाई निकै रमाइलो बनाउने पक्का छ ।

भक्तपुर चाँगुनारायणमा रहेको मुहान पोखरीमा जानका लागि भक्तपुरबाट खरिपाटी हुँदो जानसकिन्छ । खरिपाटीबाट १५–२० मिनेटको बाटो काटेपछि उक्त झरनामा पुग्न सकिन्छ । अहिले धेरै मानिसहरु यो गन्तव्यमा पुग्ने र रमाउने गरेका छन् ।

झरना बनि बग्ने यो खोला नगरकोटको महादेव कुण्डबाट बगेर आउने यो खोला मुहान पोखरीमा आएपछि झरना बन्दछ । त्यो झरना बग्दै आएर हनुमन्ते खोला हुँदै बागमती नदीमा मिसिने गर्दछ ।

पुरानो भनाई अनुसार यहाँ महादेवले जगत कल्याणको लागि कलाकोट बिष पान गरी छटपटाएको बेला पर्वतको मार्ग हुँदै जाँदा यही महादेव कुण्डमा पुगेका थिए । त्यहाँ पुगेर बिषबमन गर्न प्रयास गरी अगाडिको यात्रा पूरा गरेको भनाइ यहाँ प्रख्यात छ । यस झरनासँगै यहाँ काली दह, पञ्चकन्या देवीको मन्दिर र मुहान गणेशको मन्दिर पनि रहेका छन् । धार्मिक आस्था राख्नेहरुका लागि यी मन्दिरहरु अझ बढी महत्वपूर्ण हुनसक्छन् ।

भक्तपुरमा अहिले पनि वर्षातको समयमा पानी नपरेको खण्डमा बाजागाजा सहित पानी माग्ने परम्परा रहिआएको छ । बाजागाजासहित पानी मागेमा बर्षा हुुने गरेको मान्यता अहिले पनि स्थापित छ ।

Loading...