मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर दक्षिणपूर्वमा रहेका झरनाको बनावट अनौंठो खालको छ । आवश्यक प्रचारप्रसार नहँुदा यो झरना ओझेलमा परेको स्थानीय रत्नबहादुर सिंहले बताए । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुनसके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने सिंहको भनाइ छ ।

माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आर्कषण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको स्थानीय समीक्षा सिंहले बताईन् । यहाँ रापानी झरना र माथिल्लो रापानी झरना रहेका सिंहले बताईन् । छेउमै कलकल बग्ने नलसिंहगाड खोलाको सुन्दरतासँगै खुला अनि वरीपरी हरिया पहाडको बीचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीय वीरराज सिंहले बताए ।

शनिबार तथा बिदाको समय झरनामा पुगेर फोटा खिच्ने र रमाउने युवायुवतीको सङ्ख्या पनि ठूलै रहने गरेको सिंहले जानकारी दिए । झरनासम्म पुग्न पक्की घोरेटो बाटो र मान्छे हिँड्ने सहज पैदलमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । झरनासम्म पुग्न गतिलो बाटो समेत छैन । सात सय वर्ष पहिले खगेनकोटी राजा शिकार खेल्न गएका बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ ।

राजाले पिएको पानी भएको हँुदा यस झरनाको नाम रापानी (राजाले पिएको पानी) झरना रहन गएको स्थानीयवासी कर्णबहादुर खत्रीले बताए । समुद्री सतहदेखि करीब एक हजार मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाइ झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको लम्बाइ दुई सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खारागल्छी, झरनाको तलबाट सुसाउँदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जङ्गलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ ।

हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जङ्गली जनावर तथा पक्षी देख्न सकिन्छ । यहाँ सामान्य पूर्वाधारको विकास गर्न सके पर्यटकको आकर्षण बढ्ने स्थानीयवासीको विश्वास छ । झरनाको प्रचार र प्रवद्र्धन गर्न गाउँपालिकाले पनि पहल गर्ने अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गुरुयोजना तयार गरी झरनाको विकास गरिने उनको भनाइ छ ।

उनले भने, “बारेकोटका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीयस्थल रहेका र तिनिहरुको प्रचारप्रसार गर्न गाउँपालिका लागि परेको छ ।” लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयवासी झरनास्थल पुगेर रमाउने गरेका छन् । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा स्थानीयवासीको जोड छ ।

Loading...