नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा रहिआएको छ । विभिन्न मिठा-मिठा परिकारका साथै ब्रतको बेला भोकप्यास नलागोस भन्ने अभिप्रायले खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूललाई ब्रतको अघिल्लो दिन दरको रुपमा खाने गरिन्छ ।
तीजको ब्रत कठोर ब्रतको रुपमा मानिन्छ । यो दिन ब्रतालुहरु पानी समेत नपिई ब्रत बस्ने गर्दछन । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । अचेल तीज गीत र दरले गर्दा यो पर्व ज्यादै लोकप्रिय बनेको छ ।
परापूर्व कालमा भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकोले यो दिन आफ्ना पति र सन्तानको दीर्घायूको कामना गरी हिन्दु नारीहरु तीजको ब्रत बस्ने गर्दछन । चाडै प्रसन्न हुने भगवानको रुपमा परिचित शिवले आजको कठोर ब्रतबाट प्रसन्न भई मनले चिताएको बर दिने ब्रतालूहरुको विस्वास रहेको छ ।
एक अर्को धार्मिक विस्वास अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका बनेको छ । जसमा ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । विष्णु संग जवर्जस्ती बिबाह गरिदिन लागेपछि आफ्नै साथीहरुले हरण गरी पार्वतीलाई लुकाइदिए र लुकेकै ठाउँबाट उनले कठोर ब्रत गरी शिवलाई प्राप्त गरिन । त्यो आजकै दिन भएकोले यसलाई हरितालिका तीज पनि भनिन्छ ।
पानी समेत नपिई आफ्ना पति र सन्तानको लागि गरिने यो कठोर ब्रतले नारीको त्याग र आफ्नो भन्दा परिवारको अन्य सदस्यप्रतिको अगाध मायालाई स्थापित गरिदिएको छ । यो ब्रत बस्नाले बिबाहित नारीले परिवार सुख प्राप्त गर्दछन भने अविवाहित नारीले आफू योग्य वर पाउने धार्मिक विस्वास रही आएको छ ।
चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउने यो चाडको विशेष महत्व पनि छ । खेतीपातीको काम सकिएपछि पर्ने यो पर्वमा चेलीलाई माइतीले बोलाउन जाने र माइतीमा आफ्ना दुख कष्टका गीत सुनाएर त्यसको समाधान खोजिने पर्वको रुपमा यसले समाजमा बिशेष अर्थ राखेको छ । अचेल यसमा अझ विकाश हुँदै तीज समाजमा ब्याप्त कुरिती र कुसस्कारको भण्डाफोर गर्दै सामाजिक क्रान्तिको समेत सम्बाहक बन्दै गएको देखिन्छ ।