विराटनगर, ११ भदौ । एक नं प्रदेश सभाको आजको बैठकले ‘प्रदेश स्वायत संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा बैठकले सर्वसम्मतिले पारित गरेको थिए ।
उनले उक्त विधेयकले प्रदेशको विकास र संरचना निर्माण गर्न मद्दत गर्ने बताउँदै सघन र घनिभूत छलफलपछि आएकाले यो प्रदेशको आर्थिक तथा समाजिक विकासमा सहयोगी हुने विचार व्यक्त गरे । केही दिन अघि सदनमा प्रस्तुत सो विधेयक सुशासन तथा योजना समितिमा बृहत् छलफलबाट अझ प्रभावकारी बनाउने प्रयास भएको प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।